वीरगन्ज :

पर्सा प्रहरी : एक वर्षमा साढे ५३ करोडको अवैध सामान बरामद

श्रेणी : मधेस

12 months
Pradeep Sah
2.3kViews
1569 Shares

वीरगंज (पर्सा), ५ साउन । पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रूपमा भन्सार छली तथा बिलबीजक नभएका पाँच करोड ३६ लाख ९५ हजार दुई सय २७ रुपैयाँले बढी बरामद भएको बताए ।

‘प्रहरीले भन्सार छली तथा चोरी पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो’, उनले भने ‘चोरी-तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगंज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।’

पर्सा प्रहरीका अनुसार आव २०७९/८० मा अवैध चोरी-तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल ४८ करोड नौ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ मूल्य पर्ने सामान वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो । त्यस्तै, आव २०७८/७९ मा भने २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको थियो ।

हुन्डी कारोबारमा संलग्नबाट ६१ लाख बरामद
पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट ६१ लाख २४ हजार सात सय रुपैयाँ जफत गरेको छ । पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताए । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट एक करोड ९३ लाख ६६ हजार तीन सय रुपैयाँ बरामद गरेको थियो ।

त्यस्तै, आव २०७८/७९ मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट एक करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ सहित पक्राउ गरेको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *