
श्रेणी : अपराध
वीरगन्ज, २६ माघ । पर्सा प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न अभियानलाई कषईका साथ निरन्तरता दिदैँ आएको छ ।
हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको निर्देशनमा जिल्लाभर व्यापक सर्च अभियान सञ्चालन गर्दै अवैध रक्सी भट्टी नष्ट गर्ने कार्यलाई तीव्र पारिएको छ ।
यसै क्रममा शुक्रवार प्रहरी चौकी झबराहाबाट खटिएको टोलीले एकै दिन पाँच वटा अवैध भट्टी तोडफोड गर्नुका साथै २५० लिटर कच्चा पदार्थ र १५० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ ।
शुक्रवार जिल्लाको पटेर्वा सुगौली – ३ झबराहाका विभिन्न घरमा सञ्चालित पाँच वटा अवैध रक्सी भट्टीमा छापा मार्दै, प्रहरी टोलीले भट्टीहरू ध्वस्त पारेको छ ।
प्रहरीले रक्सी उत्पादनमा प्रयोग हुने विभिन्न मेसिन, भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ । एसपी मिश्रका अनुसार, अब जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणलाई पूर्ण रूपमा रोक लगाइनेछ ।
उनले भने, “अवैध रक्सी उत्पादनले समाजमा विकृति फैलाइरहेको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर कारबाही गर्नेछ ।”
पर्सा प्रहरीले जिल्लाभर रहेका अन्य अवैध रक्सी उत्पादन केन्द्र पहिचान गरी सखाप पार्ने योजना बनाएको छ । प्रहरीका अनुसार, अवैध घरेलु मदिरा बिक्री तथा उत्पादन गर्नेहरूलाई निगरानीमा राखी, आवश्यक परे कारबाही पनि गरिनेछ ।
प्रहरीको अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक विकृति हटाउन र अवैध धन्दालाई रोक्न प्रहरीले अझै कडा निगरानी गर्ने बताएको छ ।

प्रतिक्रिया