
श्रेणी : BANNER
वीरगंज,२१ माघ – पर्सा ट्राफिक प्रहरीले चेकजाँचको नाममा ‘अवैध असुली’ गरिरहेको समाचार प्राप्त भएको छ । मुलुकको मुख्य प्रवेशद्वार वीरगंजको विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीहरुले अवैध असुली गरिरहेको तथ्य प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत अस्थायी ट्राफिक पोष्ट ड्राईपोर्ट बहुवरी, परवानीपुर, बसपार्क, पावरहाउचौक र पर्साको ग्रामिण क्षेत्रमा पर्ने बहुअर्वाभाठाबाट सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, परवानीपुर, पावरहाउस, लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो छ । वीरगंज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट छन तर असुली धन्दाका सम्पुर्ण हार्ताकर्ता भने प्रहरी वरिष्ठ नायव निरीक्षक गुणनिधि खकुरल छन् । ट्राफिक प्रमुख भट्टले उठ्तीपुठ्ती गर्न देखि कसलाई कहाँ खटाउने लगायत तमाम जिम्मा वरिष्ठ सई खकुरेललाई नै दिएका छन ।
प्रहरी निरिक्षक भट्टले पोष्टहरुमा सरुवा गर्न आफ्नै प्रहरीसँग मासिक पैसा उठाउने गरेको स्रोत बताउँछ । ट्राफिक पोष्टमा सरुवा हुन मासिक १० हजारदेखि २ लाख रुपैयाँसम्म पोष्ट अनुसार लिने गरेका छन् । वरिष्ठ सई खकुरेलमार्फत यसरी पैसा असुली हुने गरेको छ । इन्चार्जलाई मात्र हैन सिपाही हवल्दारलाई पनि पोष्टहरुमा खटाउदा वरिष्ठ सई खकुरेलले असुली गर्ने गरेका छन ।
पैसा बुझाएकै दिन पोष्टमा सरुवा हुने र नबुझाए तत्काल नै हटाउने गरिएको छ । महिनौंदेखि ट्राफिकमा यस्तो संगठित रुपमा अवैध असुली हुँदै आएको हो ।
साथै, लाइसेन्सको ट्रायल परीक्षामा पनि प्रहरी निरिक्षक भट्टले सेटिङभित्रका आफ्ना बिश्वासपात्र वरिष्ठ सई खकुरेललाई मात्र पठाउने गरेका छन् । सेटिङमा फेल हुनेलाई समेत पास गराउने र भत्ता समेत दुरुपयोग हुने गरेको छ । जून सेटिङमा वरिष्ठ सई कखुरेल छन् । पैसा नबुझाउने ट्राफिक प्रहरीहरुलाई कखुरेलले कठिन हुने ठाउँमा डिउटीमा खटाउने गरेका छन् ।
यस्तै, बसपार्क इन्चार्ज सइ गोविन्द थापा रहेको बिटबाट खटिएका ट्राफिक प्रहरीले बसपार्क बाइपास र लिंक रोडमा सञ्चालन हुने बस, सुमो लगायतका सवारीसाधनका चालक तथा व्यवसायीहरूबाट र सानो ठुलो सम्पुर्ण पसलहरुबाट साप्ताहिक र मासिक घुस असुली गर्दै आएको समाचार प्राप्त भएको छ ।
समाचार स्रोतका अनुसार, बाइपास र लिंक रोडका पसलहरूमा सामान झार्न आएका तथा खरिद गर्न आउने सवारीसाधनलाई पसल अगाडि पार्किङ गर्न दिएबापत पसल मालिकसँग ट्राफिक प्रहरीले नियमित रूपमा घुस उठाउने गरेका छन् ।
त्यसैगरी, घुस नबुझाउने पसल अगाडि पार्क गरिएका गाडीहरूमा अनावश्यक रूपमा ह्विल लक लगाउने, जरिवाना गर्ने तथा अनावश्यक दुस्ख दिने गरेको आरोप छ।
यस्तै ग्रामीण क्षेत्रबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ । ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग पोखरिया, बहुअर्वाभाठा तिलावे पुल र बहुवरी चोकमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ ।
बहुअर्वाभाठामा खटिने ट्राफिक प्रहरीले आफ्नो बिटमा नबसी पुर्बपटी रहेको पान गुम्टीमा बसेर ग्रामीणबाट आउने लोड सवारीसाधन र भारतीय गाडीबाट अबैध असुली गर्ने गरेको स्रोतको दाबी छ । घुस लिएको कसैले नदेखोस त्यसैले ट्राफिक प्रहरीले पान गुम्टि र पान गुम्टि पछाडी रहेको सानो टहरामा लगेर घुस लिने गरेका छन ।
यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी छोड्ने गरेका छन् ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् ड्राईपोर्टस्थित बहुवरी ट्राफिकका इन्चार्ज असई बिरबहादुर यादव र परवानीपुरका इन्चार्ज सई भिम बहादुर बोहराको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ ।
परवानिपुर बिटका सई बोहराको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सि।आर।भी। सरुवामा भइसकेको छ तर यहि मोटो घुस कमाइ हुने भएकोले अडा जमाएर बसेका छन । सरुवा भएका सइ बोहरालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरीक्षक भट्टले नै सरुवा न गरि काखी च्यापेका छन ।
प्रत्येक २ महिनामा परवानीपुर र बहुवरी युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने खबर पनि छ । दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्साका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् । ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
बीरगंज भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
बहुवरी चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट २ बिघा पश्चिम एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ड्राईपोर्ट बहुवरी, परवानीपुर , बसपार्क र बहुअर्वाभाठा लगायतका युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन् । उल्लेखित पोष्टका इन्चार्जहरुले जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टलाई तोकेको दररेट अनुसार मासिक रकम बुझाउने गरेका छन् । यतिमात्र हैन उक्त असुली हुने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपीसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।
पर्सा जिल्लाभित्र ड्राइपोर्ट बहुअरी चोक , परवानीपुर, बसपार्क, पावरहाउस चोक र बहुअर्वाभाठा लगायत ५–६ वटा ट्राफिक पोष्ट रहेका छन् । ती पोस्टहरुमा रहेका ट्राफिक प्रहरीबाट मासिक किस्ता असुल्ने गरिएको सूचना समेत प्राप्त भएको छ । स्रोतका अनुसार ती पोष्टमध्ये जिल्ला प्रवेशको पहिलो र मुख्य ठाउँ ड्राइपोर्ट बहुअरी चोक ट्राफिक पोष्टको किस्ता मासिक २ लाख र दोस्रो ट्राफिक पोस्ट परवानीपुरको किस्ता मासिक २ लाख रहेको बताइएको छ । यी दुबै पोष्टबाट बढी घुस असुली हुने भएको र जिल्ला ट्राफिकका प्रमुख र प्रदेश ट्राफिकका प्रमुख एसपीलाई बढी बुझाउनुपर्ने भएकाले महँगा मानिन्छन् । तेर्सोमा बसपार्क ट्राफिक पोष्ट रहेको छ । त्यहाँबाट मासिक ५० हजार जिल्ला इञ्जार्चलाई किस्ता बुझाउनुपर्छ । यस्तै बहुअर्वाभाठा पोष्टले पनि १० हजार मासिक बुझाउनुपर्ने स्रोतले दावी गरेको छ ।
यस्तै हरेक उद्योग करखानाहरुबाट दररेट तोकेर उठाउने गरेको स्रोतले जनाएको छ । मासिक दररेट तोकेर रकम बुझाउनुपर्ने उर्दी नै जारी भएको छ । ५–६ वटा ट्राफिक पोष्ट र उद्योग र कारखानाहरुबाट मासिक ८ लाख रुपैयाँ असुल गर्ने गरेको गन्ध आएको छ । हावा नचली पात हल्लिंदैन भन्ने उखान यसै चलेको हैन । तालुक निकायले विशेष संयन्त्र प्रयोग गरेर सुक्ष्म छानबिन गर्ने हो भने केही दिनमै असुली काण्डको भेद पर्दाफास हुने अपेक्षा गरिएको छ । साभार- नेपाल पोष्ठ डेली

प्रतिक्रिया