
श्रेणी : BANNER
वीरगंज, २२ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक लोकराज भट प्रमुख भएर आएदेखि ट्राफिक व्यवस्थापनभन्दा अवैध मुद्रामोचनलाई प्राथमिकता दिने प्रवृत्तिमा तीव्रता आएको छ। ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ भने सडक दुर्घटनाको जोखिमसमेत बढ्दो छ। यता, कार्यालय अन्तर्गतका ट्राफिक पोष्टहरूमा तैनाथ प्रहरीहरू अवैध असुलीमा लिप्त भएको गुनासो तीव्र रूपमा बढ्दै गएको छ।
विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधनका चालकहरूले ड्राईपोर्ट, परवानीपुर, पावरहाउस र गण्डक ट्राफिक पोष्टका प्रहरीहरूले ‘ओभरलोड’को नाममा अवैध रकम असुल्दै आएको आरोप लगाएका छन्। जरिवाना नगरी रकम उठाएर छोड्ने, रकम नतिरेमा कानुनी कारबाहीको डर देखाउने जस्ता कार्यहरू सामान्य जस्ता देखिन थालेका छन्।
ड्राइपोर्ट पोस्टमा खटिएका प्रहरी नायब निरीक्षक मीन साउद र परवानीपुर पोस्टका प्रहरी सहायक निरीक्षक इन्द्र मगरमाथि अवैध रकम संकलनको प्रमुख आरोप लागेको छ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
राज्यको तलब भत्ता खाएर नागरिकको सहजता एवं ट्राफिक व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले सामान्य रिक्सा चालकसँग समेत घुस लिन छोड्दैनन् भने झन ट्राफिक नियम उल्लंघन गर्ने, ओभर लोड गर्ने, अन्य मालबाहक सवारीसाधनसँग कत्तिको असुली गर्दो होलान् सहजै अनुमान लगाउन सकिन्छ । ट्राफिक नियम उल्लंघन गर्ने, ओभरलोड गर्नेलगायतका सवारी साधनहरूसँग बिचौलिया मार्फत् ठाउँ ठाउँमा असुली अभियान नै संचालन चलाएका गुनासा पनि बढ्दै गएकै देखिन्छ । बीरगञ्ज भन्सार कार्यालय (आईसीपी) बाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतको दाबी छ । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ
घुस असुलीको ‘रेकेट’ संचालन
सूचनाका अनुसार, ट्राफिक प्रमुख लोकराज भटको निर्देशनमा वरिष्ठ सई गुणनिधि खकुरेलमार्फत ट्राफिक पोष्टहरूमा असुलीको दररेट निर्धारण गरिएको छ। प्रत्येक ट्राफिक पोस्टका इन्चार्जहरूले आफ्नो पोस्टबाट उठेको घुस रकमको हिस्सा मासिक रूपमा प्रमुखलाई बुझाउने गरेको खुलासा भएको छ।
ड्राइपोर्ट र परवानीपुर पोस्टबाट मासिक ३–३ लाख, गण्डकबाट ५० हजार, बसपार्कबाट ४० हजार र पोखरिया, बहुअर्वाबाट १५–१५ हजार रुपैयाँ बुझाउने गरिन्छ। उद्योग–कलकारखानाबाट पनि दररेट निर्धारण गरेर मासिक असुली हुने गरेको बताइएको छ।
‘पोष्ट’मा सरुवाको पनि बिक्री–वितरण!
ट्राफिक पोष्टमा सरुवा हुन चाहने प्रहरी कर्मचारीहरूले मासिक १५ हजारदेखि ३ लाख रुपैयाँसम्म बुझाउनु पर्ने स्रोतको भनाइ छ। सरुवा प्रक्रिया वरिष्ठ सई खकुरेलमार्फत सञ्चालन हुने गरेको छ। पैसा बुझाएका प्रहरीलाई एकैदिनमा पोस्टमा खटाउने, नबुझाउनेलाई हटाउने गरिएको आरोप छ । ४/५ वटा ट्राफिक पोष्ट र उद्योग र कारखानाहरुबाट मासिक १० लाख रुपैयाँ असुल गर्ने गरेको गन्ध आएको छ । हावा नचली पात हल्लिंदैन भन्ने उखान यसै चलेको हैन ।
बसपार्क क्षेत्रमा असुली !
यस्तै, बसपार्क इन्चार्ज असइ धर्मेन्द्र झा रहेको बिटबाट खटिएका ट्राफिक प्रहरीले बसपार्क बाइपास र लिंक रोडमा सञ्चालन हुने बस, सुमो लगायतका सवारीसाधनका चालक तथा व्यवसायीहरूबाट र सानो ठुलो सम्पुर्ण पसलहरुबाट साप्ताहिक र मासिक घुस असुली गर्दै आएको समाचार प्राप्त भएको छ। समाचार स्रोतका अनुसार, बाइपास र लिंक रोडका पसलहरूमा सामान झार्न आएका तथा खरिद गर्न आउने सवारीसाधनलाई पसल अगाडि पार्किङ गर्न दिएबापत पसल मालिकसँग ट्राफिक प्रहरीले नियमित रूपमा घुस उठाउने गरेका छन्। त्यसैगरी, घुस नबुझाउने पसल अगाडि पार्क गरिएका गाडीहरूमा अनावश्यक रूपमा ह्विल लक लगाउने, जरिवाना गर्ने तथा अनावश्यक दु:ख दिने गरेको आरोप छ।
पोखरिया र बहुअर्वामा असुली !
ग्रामीण क्षेत्रबाट धान लोड गरेर आउने ट्याक्टर चालकहरूसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ। पोखरिया र बहुअर्वामा ट्याक्टर रोक्नेदेखि अनावश्यक झन्झट दिने र त्यसैको नाममा घुस असुली गरिने चालकहरूको गुनासो छ। बहुअर्वाभाठामा खटिने ट्राफिक प्रहरीले आफ्नो तोकिएको बिटमा नबसि, पूर्वपट्टि रहेको पान गुन्तिमा बसेर ग्रामीण क्षेत्रबाट आउने लोड सवारीसाधन र भारतीय नम्बर प्लेट भएका गाडीहरूबाट अवैध रूपमा रकम असुल्ने गरेको स्रोतको दाबी छ। घुस लिएको कसैले नदेखोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले पान गुन्ति र त्यसको पछाडि रहेको सानो टहरामा लगेर रकम लिने गरेको बताइएको छ।यतिमात्र होइन, भारतीय नम्बर प्लेट भएका निजी कार, पिकअप र मोटरसाइकलका चालकहरूसँग ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक लगायत कागजात मागेर कर नतिरेको वा कागजात नभए पनि रसिद नकटाई घुस लिई गोजी भरेर छोड्ने गरेको पनि आरोप छ।
सूचना माग्दा आलटाल
२०८२ साल असार ४ गते, बुधबार साँझ ४ बजे पर्सा मिडिया हाउसको लेटरप्याडमा तयार पारिएको आवश्यक सूचना माग्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा पुग्दा ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सो पत्रमा कुनै टोक नलगाईकन तथा दर्ता नगरी आफ्नै पकेटमा राखेका थिए। तर आज १० दिनभन्दा बढी समय बितिसक्दा पनि सूचना उपलब्ध गराइएको छैन।
सडक जाम र जनदुःख
ट्राफिकको चेकजाँचका नाममा हुने मनोमानी असुली र रोकिने गाडीका कारण ड्राइपोर्ट–परवानीपुर–गण्डक सडकखण्डमा सवारी जाम बढ्दो छ। ट्राफिक व्यवस्थापन गर्ने भन्दा पनि असुली प्राथमिक बन्नु प्रशासनिक भ्रष्टाचारको स्पष्ट नमूना भएको स्थानीयहरू बताउँछन्।
वीरगंज ट्राफिक प्रहरीमा समुदायगत विभेदको आरोप
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा समुदायको आधारमा पक्षपात गरिएको गम्भीर आरोप लागेको छ। प्रहरी निरीक्षक लोकराज भट्टले आफ्नै समुदायका सुरक्षाकर्मीलाई प्राथमिकता दिँदै अन्यलाई पन्छ्याएको भनिएको छ।
वर्षौंदेखि कार्यरत सई गुणनिधि खकुरेललाई लगातार समन्वय जिम्मेवारी दिइएको छ भने ड्राइपोर्टमा सई मीन साउद र परवानीपुरमा असई इन्द्र मगरलाई खटाइएको छ। ती सबै निरीक्षक भट्टकै समुदायका हुन्।
सूत्रका अनुसार दरबन्दीबाहिर रहेका आफ्ना समुदायका प्रहरीलाई विशेष पहुँचमार्फत राखिएको र ‘कमाइ हुने पोस्ट’ मा पनि उनीहरूलाई मात्र खटाइएको आरोप छ। अन्य समुदायका सुरक्षाकर्मीलाई छानीछानी रावाना गरेको गुनासो छ।
एकै संगठनभित्र समुदाय र क्षेत्रीय आधारमा विभेद गरिएको भन्दै असन्तुष्टि देखिएको छ।
पर्साका ट्राफिक प्रमुखमाथि व्यवसायी, यातायात संघ, सवारी चालक र संघ–संस्थाबाट मासिक अवैध असुलीको आरोप !
पर्सा ट्राफिक प्रहरी प्रमुख लोकराज भटमाथि व्यवसायी, यातायात संघ, सवारी चालक र संघ–संस्थाबाट मासिक रूपमा अवैध रकम असुली गर्ने आरोप लागेको छ।
स्रोतका अनुसार, भटको निर्देशनमा ट्राफिक प्रहरीले ड्राइभर यूनियन र सवारीधनी संघसँग मिलेर नियमित रकम उठाउने काम गर्दै आएको छ।
रकम नदिनेहरूलाई ट्रायल रोक्ने, पासमा झन्झट गराउने र कारबाहीको डर देखाउने गरिन्छ। असहयोग गर्नेहरूमाथि सवारी होल्ड, चिट काट्ने र सिट खोस्ने जस्ता काम भइरहन्छ, भने मिलेमतोमा रहेकाले नियम उल्लंघन गर्दा पनि छुट पाइरहेका छन्।
ट्रायल सेन्टरमा कमाउधन्दा चलाउँदै सई गुणनिधि खकुरेल
पर्सा ट्राफिकबाट यातायात कार्यालयको चालक अनुमितपत्रको ट्रायल परीक्षामा बर्र्षाैदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) गुणनिधि खकुरेल खटिदैआएका छन् । पर्सा यातायातका कर्मचारी र ट्राफिकबाट खटिएका सई खकुरेलले मोटरसाइकल, गाडी र हेभी सवारीको लाइसेन्स सेटिङमा दररेट तय गरी दैनिक लाखौं असुली गर्ने गरेका छन् ।
ट्रायल सेन्टरमा कमाउधन्दा चलाउँदै सई खकुरेलले ट्रायल सेन्टरबाट आउने रकममध्ये जिल्ला ट्राफिक प्रहरी निरीक्षक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रमुख प्रहरी उपरीक्षकसम्म बुझाउँदै आएको आरोप छ ।भागबण्डा बुझाएकै कारण उनले बर्षौदेखि त्यहाँको जिम्मा पाउने गरेका छन् ।
चालक अनुमतिपत्रको प्रयोगात्मक दक्ष चालकलाई अनेक बहानामा फेल गराउने तथा परीक्षामा उपस्थित मात्र हुनेहरुलाई सेटिङमा पास गराउने गुनासा सार्वजनिक भइरहँदा पनि ट्राफिक प्रहरी प्रमुख भट्ट मौन छन् ।
ट्राफिक प्रदेश कार्यालयसम्म घुसको हिस्सा
स्रोतका अनुसार, जिल्ला ट्राफिक प्रमुखमार्फत उठाइने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी)राज कुमार सिलवालसम्म पुग्ने गरेको छ। एसपी सिलवालसम्म घुसको हिस्सा पुगेकै कारण कुनै कार्यवाहि नगरि मौन समर्थन गरेको आरोप छ ।
उच्चस्तरीय छानबिनको माग
स्रोतका अनुसार ट्राफिक असुली काण्डको हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयासम्म पुग्ने गरेको छ। यति व्यापक र संगठित रूपमा भइरहेको भ्रष्टाचारमा तालुक निकाय मौन रहनु गम्भीर विषय भएको भन्दै नागरिक समाज, व्यवसायी र पीडित चालकहरूले तत्काल सुरक्षात्मक संयन्त्रमार्फत छानबिन गरिनु पर्ने माग गरेका छन्।


प्रतिक्रिया