बीरगन्ज,१९ चैत । पर्सा जिल्लामा चालु आर्थिक वर्षमा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् भने समाजमा यस रोगबारे रहेको अन्धविश्वास अझै हट्न नसकेको पाइएको छ।
बीरगन्जमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरूले कुष्ठरोगलाई अझै पनि ‘पाप’ वा ‘दैवी श्राप’ का रूपमा हेर्ने प्रवृत्ति समाजमा कायम रहेको बताएका छन्। द लेप्रोस्कोपी नेपालका मधेस प्रदेश प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीका अनुसार यस्तो गलत धारणा कारण धेरै बिरामीले रोग लुकाउने र समयमै उपचार नगर्ने समस्या देखिएको छ।
उनले कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट लाग्ने सरुवा रोग भएको र समयमै उपचार गरिए पूर्ण रूपमा निको हुन सक्ने स्पष्ट पारे। तर समाजमा रहेको डर, लाज र विभेदका कारण बिरामीहरू खुल्न नसकेको उनले बताए।
कार्यक्रममा विभिन्न धर्मका अगुवाहरूले पनि कुष्ठरोगबारे जनचेतना फैलाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले रोगलाई अन्धविश्वाससँग जोड्ने प्रवृत्ति अन्त्य गर्न समुदायस्तरमै काम गर्नुपर्नेमा जोड दिएका छन्।
तथ्यांक अनुसार, पर्सामा सबैभन्दा बढी बीरगन्ज महानगरपालिकामा १७ जना नयाँ संक्रमित भेटिएका छन्। अन्य पालिकाहरूमा पनि छिटपुट रूपमा संक्रमण देखिएको छ भने केही पालिकामा नयाँ संक्रमित फेला परेका छैनन्।
गत आर्थिक वर्षमा भने जिल्लाभर १०९ जना कुष्ठरोगी भेटिएका थिए। सरोकारवालाहरूका अनुसार नियन्त्रण र जनचेतना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो समेत गरिएको छ।

प्रतिक्रिया