
श्रेणी : अपराध
बीरगन्ज,१४ असार । पर्सा जिल्लामा चालू आर्थिक वर्षको ११ महिनामा मात्रै ३८ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको भन्सार छली तथा बिलबिजक नभएका सामानहरू बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले गरेको सक्रिय निगरानीका कारण यो संख्यामा उल्लेखनीय वृद्धि भएको हो।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालका अनुसार, गत आर्थिक वर्षभरिमा मात्र १४ करोड ९९ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थियो। तर, चालू आर्थिक वर्षको ११ महिना १० दिनभित्रै यो संख्या २७ करोड ५६ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
उनका अनुसार, सीमा क्षेत्र हुँदै भन्सार छली गरेर नेपाल भित्र्याइएका विभिन्न वस्तुहरूमा कपडा, गुटखा, मोबाइल, इलेक्ट्रोनिक सामान, खाद्यान्न लगायतका सामग्री बढी छन्।
सशस्त्र प्रहरीको सक्रियता र नियमित गस्तीका कारण सीमाक्षेत्रमा अवैध ओसारपसार नियन्त्रणमा सहयोग पुगेको बताइएको छ। गणपति धिमालका अनुसार, भन्सार छल्ने कार्यलाई न्यूनतममा झार्न थप प्रविधिमैत्री निगरानी र समन्वयात्मक प्रयास जारी रहनेछ।
यो तथ्यांकले सीमा नाकाबाट हुने गैरकानुनी कारोबार अझै पनि ठूलो चुनौती रहेको संकेत गर्छ।


प्रतिक्रिया