वीरगन्ज :

पर्सामा हैजा संक्रमण : महिलामा र बालबालिकामा बढी असर, केहीको मिर्गौलामा समस्या

श्रेणी : BANNER

5 hours
Pradeep Sah
2.0kViews
1310 Shares

बीरगन्ज,१७ भदौ । बीरगन्ज र आसपासका क्षेत्रमा हैजाको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । संक्रमितमध्ये महिलाहरू र बालबालिका बढी प्रभावित देखिएका छन्, भने केही बिरामीमा मिर्गौलासम्बन्धी जटिलता समेत देखिएको छ ।

बीरगन्ज –१५, भेडियाहीकी २५ वर्षीया गर्भवती लालमुनी देवीलाई झाडापखालाले सिकिस्त बनाएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनले छोरी जन्माइन् तर अहिले आईसीयूमा गम्भीर अवस्थामा छिन् । नवजात शिशुले आमाको दूध चुस्न नपाउँदा मातृ वात्सल्यबाट वञ्चित भएकी छिन् । चिकित्सकहरूले उनको मिर्गौलामा पनि समस्या देखिएको बताएका छन् ।

त्यसैगरी, बीरगन्ज –१३, मुर्लीका ५० वर्षीय एक पुरुषलाई पनि हैजाको संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनीहरूको मिर्गौलामा पनि गम्भीर असर देखिएको छ र डायलसिस गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हाल आईसीयूमा रहेका आधा दर्जन हैजा संक्रमितमध्ये तीन जनामा मिर्गौलाको समस्या देखिएको छ । “जलवियोजनका कारण मिर्गौलामा एक्युट किड्नी इन्जुरी (AKI) देखिने सम्भावना बढी हुन्छ,” उनले भने, “समयमै उपचार नपाए ज्यान जाने जोखिम हुन्छ ।”

अस्पतालमा सोमबार साँझसम्म ३७ बिरामी उपचाररत छन्, जसमा ६ जना आईसीयूमा र एक जना पीआईसीयूमा छन् । पछिल्लो २४ घण्टामा मात्र २९ नयाँ बिरामी आएका छन् । डेढ सातादेखि अहिलेसम्म झाडापखालाका १४१ जनाको परीक्षणमा ५९ जनामा हैजा पुष्टि भएको छ ।

डा. सिंहका अनुसार सुरुवाती दिनमा वयस्क पुरुषमा बढी संक्रमण देखिएको भए पनि पछिल्ला दिनमा महिलाहरू र बालबालिकामा बढी असर देखिएको छ । “हाल आईसीयू र वार्डमा रहेका बिरामीमध्ये आधाभन्दा बढी महिला र बालबालिका हुन्,” उनले जानकारी दिए ।

सकारात्मक पक्ष भनेको हैजा पुष्टि हुने दर केही घटेको छ । भदौ ६ देखि ९ सम्म आधा बिरामीमा संक्रमण पुष्टि हुने अवस्था भए पनि भदौ १० यता यो दर १० प्रतिशतमा झरेको छ । डा. सिंहका अनुसार, घरमै एन्टिबायोटिक प्रयोग र जीवाणुको प्रभाव क्रमशः घट्नु यसको कारण हुन सक्छ ।

वीरगन्ज महानगरपालिकाका पछिल्ला तथ्यांक अनुसार, हालसम्म वीरगन्जमा १७५ र पोखरियामा १५ जनामा हैजा पुष्टि भइसकेको छ । जिल्लाभर संक्रमितको संख्या १९० पुगेको छ । अहिलेसम्म ७८६ बिरामी उपचारपछि घर फर्किएका छन् भने १३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

संक्रमण फैलिन नदिन वीरगन्ज महानगरपालिकाले एक सातादेखि सबै शैक्षिक संस्थान बन्द गरिसकेको छ । तर नयाँ संक्रमित देखिने क्रम भने रोकिन सकेको छैन, जसले स्थानीयमा त्रास थपिएको छ ।

यद्यपि, प्रकोपको स्रोत अझै पहिचान हुन सकेको छैन । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत विज्ञहरूको सहयोगमा हैजाको स्रोत खोजी जारी रहेको बताए । विभिन्न प्रयोगशालाहरूको परीक्षणले खानेपानीको नमुनामा हैजाको जीवाणु नदेखाएपछि स्थानीयवासी अझै अन्योल र सशंकित बनेका छन् ।

स्वास्थ्यकर्मीहरूले नागरिकलाई सफा र उमालेको पानी मात्र पिउन, व्यक्तिगत स्वच्छतामा ध्यान दिन र लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *