वीरगन्ज :

पर्सामा हैजा नियन्त्रणका लागि सेना खटाइने तयारी : गृहमन्त्री लेखक

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.6kViews
1319 Shares

बीरगन्ज,१५ भदौ । पर्सामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित अतिरिक्त स्वास्थ्य जनशक्ति खटाउने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

शनिबार अबेर राति वीरगन्जस्थित नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीको अवस्थाबारे बुझ्दै गृहमन्त्री लेखकले महामारी नियन्त्रणका लागि सरकारले आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरे।

“नागरिकको जीवन बचाउन सरकारले कुनै कमी हुन दिने छैन,” मन्त्री लेखकले भने, “आवश्यक औषधि, जनशक्ति र स्रोतसाधन तुरुन्त उपलब्ध गराइनेछ।” उनका अनुसार सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाइने तयारी भइरहेको छ, र आवश्यक परे थप जनशक्ति पनि खटाइनेछ।

निरीक्षणका क्रममा मन्त्री लेखकले अस्पतालका आपत्कालीन, आइसियु र सामान्य वार्डमा उपचाररत बिरामीसँग उपचारको अवस्था र निःशुल्क औषधि उपलब्धताबारे जानकारी लिए।

नारायणी अस्पतालका मेसु चुमनलाल दासका अनुसार, हैजा फैलिएको नौ दिनमा ३६८ जना बिरामी भर्ना भएका छन्, जसमा ३१२ जना उपचारपछि घर फर्किसकेका छन् भने ५६ जना अझै उपचाररत छन्। आइसियुमा रहेका पाँचमध्ये तीन जनाको शनिबार मात्रै डायलासिस गरिएको छ।

गृहमन्त्री लेखकसँगै कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद श्याम पटेल र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलासहित अन्य अधिकारीहरूले पनि अस्पतालको अवस्था अवलोकन गरेका थिए।

मन्त्री लेखकले विज्ञहरुसँगको सल्लाहअनुसार हैजा फैलनुका कारणको पहिचान गरी दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुने पनि बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *