
श्रेणी : मधेस
बीरगन्ज,२२ पुस । पर्सा जिल्लामा लगातार दुई दिनदेखि हुस्सु र कुहिरोका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार बिहानदेखि नै बाक्लो हुस्सु लागेपछि सर्वसाधारण घरभित्रै सीमित भएका छन्।
तराई–मधेसका जिल्लामा शीतलहर चलिरहेकाले चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष गरी प्रभावित पारेको छ। बीरगन्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको थियो। आइतबार बिहान न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस रहेको छ।
चिसोको प्रभाव कम गर्न बीरगन्ज महानगरले विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाएको छ। नारायणी अस्पताल, नयाँबसपार्क चोक, माईस्थान चोक, र घण्टाघरजस्ता क्षेत्रमा आगो ताप्न सर्वसाधारणलाई सहयोग गरिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारलाई सिरक र न्यानो कपडा वितरण गरिंदैछ। चिसोका कारण स्वास्थ्य समस्या बढ्ने सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
स्थानीय प्रशासनले चिसोबाट प्रभावितलाई सहयोग गर्ने प्रयास जारी राखे पनि कठ्यांग्रिने जाडोका कारण जनजीवन अझै सामान्य बन्न सकेको छैन।
शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया