वीरगन्ज :

पर्सामा साढे आठ लाख बिरुवा निःशुल्क वितरण

श्रेणी : कृषि

13 hours
Pradeep Sah
2.5kViews
1511 Shares

सेढवा,०२ साउन । डिभिजन वन कार्यालय पर्साले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न साढे आठ लाख बिरुवा उत्पादन गरी सर्वसाधारणलाई निःशुल्क रूपमा बृक्षारोपणको लागि वितरण गर्न थालेको छ। अत्यधिक गर्मी, अनियमित वर्षा र पर्यावरणीय असन्तुलनको समाधानका लागि बृक्षारोपण नै दीर्घकालीन उपाय भएको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको हो।

डिभिजन वन कार्यालय पर्साका प्रमुख जिल्ला वन अधिकृत मन्जुर अहमद का अनुसार, जिल्लाका विभिन्न नर्सरीमा उत्पादन गरिएका बिरुवाहरू जनप्रतिनिधि र वडा कार्यालयमार्फत सर्वसाधारणको माग अनुसार वितरण गरिँदैछ। किसानले ठूलो संख्यामा माग गरेमा घरमै वा बृक्षारोपण स्थलसम्म पुर्याउने सेवा पनि कार्यालयले उपलब्ध गराएको उनले जानकारी दिए।

वन कार्यालयले सबैठवामा एक लाख, छिपहरमाई गाउँपालिकाको चरगांहामा एक लाख, सोलकपुर नर्सरीमा एक लाख बिरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय पर्साले जनाएका छन। त्यस्तै सब डिभिजन वन कार्यालय सबैयामा एक लाख साठी हजार, बढनियारमा एक लाख, मनवामा नब्बे हजार, रंगपुरमा एक लाख र सब डिभिजन वन कार्यालय बसन्तपुरमा एक लाख बिरुवा उत्पादन गरिएका डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

उत्पादन गरिएका बिरुवाहरूमा मसला, टिक प्लान्ट, सिसौ, महोगनी, आमला, अर्जुन, जकरंडा, गुलमोहर, पिपल, अमला लगायत दुई दर्जनभन्दा बढी प्रजातिका बिरुवा रहेका छन्। यी बिरुवाहरू पर्यावरणीय सन्तुलन कायम राख्न, माटोको क्षरण रोक्न, हरियाली विस्तार गर्न र आर्थिक दृष्टिले समेत लाभदायक हुने वन विज्ञहरू बताउँछन्।

बृक्षारोपण कार्यक्रमलाई सामुदायिक सहभागिता सहित अगाडि बढाइएको वन कार्यालयले जनाएको छ। यस अभियानबाट नजिकिँदै गरेको वन महोत्सव र श्रावण महिनामा हुने धार्मिक र सांस्कृतिक वृक्षारोपण कार्यक्रमहरूलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
जलवायु परिवर्तनको चपेटामा परिरहेको नेपालमा स्थानीय तहबाट यस्ता सकारात्मक पहलहरूले वातावरण संरक्षणमा नयाँ आशा जगाउने बताइएको छ। डिभिजन वन कार्यालय पर्साको यो कदम वातावरणीय दिगोपनतर्फको उदाहरणीय कार्यको रूपमा लिइएको छ।
“रुख रोपौं, हरियाली बढाऔं“ भन्ने नारालाई व्यवहारमा उतार्ने समय अब आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *