
श्रेणी : अपराध
बीरगन्ज,०७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्कले गत वर्षको तुलनामा यस वर्ष लागूऔषधको कारोबारमा पक्राउ पर्नेको सङ्ख्या घटेको देखाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले गत आव २०८०र८१ मा ३०५ जना लागूऔषध मुद्दामा पक्राउ परेका थिए भने चालू आवको जेठ मसान्तसम्म १२१ जना पक्राउ परेको बताए । गत आवमा २९० जना पुरुष र १५ जना महिला पक्राउ परेका थिए भने, चालू आवको जेठ मसान्तसम्म ११३ जना पुरुष र आठजना महिला पक्राउ परेको बताए ।
उनले गत आवमा लागूऔषधविरुद्ध २२० वटा मुद्दा दर्ता भएकामा चालू आवको जेठ मसान्तसम्म ११३ वटा मुद्दा दर्ता भएको
बताए । प्रवक्ता लम्सालले उपलब्ध गराएको तथ्याङ्क अनुसार मुद्दा दर्ता र पक्राउ सङ्ख्यामा कमी देखिए पनि बरामद लागूऔषधको परिमाण भने बढेको पाइएको छ । गत आवमा ५११ किलो गाँजा बरामद भएको थियो भने चालू आवको जेठ मसान्तसम्म एक हजार ५६१ किलो गाँजा बरामद भएको छ ।
यसैगरी, गत आवमा ११ किलो चरेस बरामद भएको थियो भने चालू आवको जेठ मसान्तसम्म ३०६ किलो बरामद भएको छ । गत आवमा हेरोइन ७६३ ग्राम बरामद भएको थियो भने चालू आवको जेठ मसान्तसम्म ३८४ ग्राम बरामद भएको छ । गत आवमा अफिम १५४ ग्राम बरामद भएको थियो भने चालू आवको जेठ मसान्तसम्म ४९० ग्राम बरामद भएको छ ।
प्रहरी तथ्याङ्क अनुसार फेनारगन, डाइजेपाम, नुर्फिन, नाइट्रोभेट, कोरेक्स गत आवको तुलनामा कम बरामद भएको छ । तर यसपटक ट्रमाडोल ट्याब्लेट भने ठूलो परिमाणमा बरामद भएको प्रवक्ता लम्सालले बताए । ट्रमाडोल ट्याब्लेट दुई लाख ८९ हजार २७४ थान बरामद भएको प्रवक्ता लम्सालले बताए ।


प्रतिक्रिया