वीरगन्ज :

पर्सामा बर्डफ्लू नियन्त्रण सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.9kViews
1708 Shares

वीरगंज,१८ फागुन – पर्सामा बर्डफ्लू नियन्त्रणका लागि सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी अलर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा बसेको बैठकले बर्डफ्लू संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले विशेष गरी सीमावर्ती क्षेत्रमा निगरानी बढाउने तथा भारतीय भूमिबाट सेतो अण्डा, कुखुरा, चल्ला लगायतका पदार्थहरूको अवैध आयातलाई तत्काल प्रतिबन्ध गर्ने निर्णय गरेको छ। हालै भारतमा बर्डफ्लूको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा उक्त रोग प्रवेश गर्ने सम्भावना न्यूनिकरण गर्न सीमाक्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको हो।

बैठकमा सरोकारवाला निकायहरूले आपसमा सूचना तथा जानकारी आदानप्रदान गर्ने, आन्तरिक बजारमा यस्ता पदार्थहरूको उपभोग तथा बिक्री-वितरणलाई निरुत्साहित गर्ने, संयुक्त अनुगमन गर्ने, तथा अनुगमनका लागि विशेष टोली गठन गर्ने विषयमा छलफल गरी ठोस निर्णय गरिएको छ। बैठकमा उपस्थित सबै पक्षले बर्डफ्लू नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बर्डफ्लू नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा. राजकुमार शाहको संयोजकत्वमा विशेष अनुगमन टोली गठन गरिएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पर्साका खरिदार कृष्णा कुमार कुशवाहा, नेपाल प्रहरीका जुनियर अधिकृत प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपालका जुनियर अधिकृत प्रतिनिधि, वीरगंज उद्योग वाणिज्य संघ, पर्साकी शिवानी कलवार तथा नेपाल लेयर्स कुखुरा पालक संघ, पर्साका विनोद पोखरेल सदस्यका रूपमा रहेका छन्।

बैठकमा गरिएको निर्णयअनुसार भोलीदेखि नै अनुगमन कार्य सुरु गरिनेछ। अनुगमन टोलीले सीमा क्षेत्रमा कडाइका साथ अनुगमन गर्ने, बजारमा बर्डफ्लूको जोखिमयुक्त सामग्री बिक्री गरिएको पाइएमा आवश्यक कारबाही गर्ने तथा दैनिक अनुगमन प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, पर्सामा पेश गर्नेछ।

साथै, बैठकले प्राप्त वस्तुस्थितिको आधारमा सम्बन्धित पक्षलाई कारबाही गर्ने निर्णय गरेको छ। यो निर्णय सर्वसाधारणको जानकारीका लागि विभिन्न सञ्चारमाध्यममार्फत प्रचार-प्रसार गरिने पनि बैठकले स्पष्ट पारेको छ।

सरकार तथा सम्बन्धित निकायले बर्डफ्लू रोकथामका लागि आवश्यक सतर्कता अपनाउन आम नागरिक, व्यवसायी तथा किसानलाई समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *