
श्रेणी : BANNER
बीरगन्ज,०४ वैशाख । पर्सा जिल्लाको पोखरिया नगरपालिका–२, मननपुरस्थित बाँसको झ्याङभित्र लुकाएर राखिएको ठूलो परिमाणको चरेस सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहका अनुसार २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको हो। चरेस खानेतेलको प्लास्टिक ग्यालेनभित्र प्याक गरेर बाँसको झ्याङभित्र लुकाइएको अवस्थामा फेला परेको उनले बताए।
विशेष सुराकीको आधारमा बुधबार राति सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको टोलीले सो चरेस बरामद गरेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाले गरेका थिए।
उनीहरू घटनास्थल पुगेपछि दुईवटा प्लास्टिकको ग्यालेन फेला पारे, जुन काटेर हेर्दा भित्र प्लास्टिक प्याकेटमा राखिएको चरेस रहेको पुष्टि भएको थियो।
बरामद चरेस हाल इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी डीएसपी सिंहले बताए।


प्रतिक्रिया