बीरगन्ज,०५ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले फागुन महिनामा विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत सञ्चालन गरिएको विशेष कारबाहीमा पक्राउ परेका प्रतिवादीहरूले कुल १२ वर्ष ३ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानी र जरिवाना असुलीका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता राजु कार्की का अनुसार फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई प्राथमिकतामा राख्दै निरन्तर सञ्चालन गरिएको छ। “फरार व्यक्तिको खोजी तथा पक्राउलाई अझ प्रभावकारी बनाउँदै जानेछौं,” उनले बताए।
प्रहरीले यस्तो अभियानलाई आगामी दिनमा पनि थप सशक्त बनाउने जनाएको छ।

प्रतिक्रिया