वीरगन्ज :

पर्सामा उद्योग दर्तामा उल्लेख्य वृद्धि, स्वदेशमै व्यवसाय गर्न सकिने संकेत

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.7kViews
1772 Shares

बीरगन्ज,१८ साउन । कोरोना महामारीपछि थलिएको साना तथा घरेलु उद्योग क्षेत्र फेरि उकासिन थालेको छ। आर्थिक नगरी बीरगन्ज रहेको पर्सामा पछिल्लो आर्थिक वर्षमा उद्योग तथा व्यवसाय दर्ताको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ, जसले स्वदेशमै उद्यम गर्ने सकिने विश्वास जगाएको छ।

प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, पर्साका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल १,७२१ नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या ३०९ ले बढी हो। २०८०/८१ मा १,४१२ उद्योग मात्र दर्ता भएका थिए।

केवल नयाँ दर्ता मात्र नभई, पुराना उद्योगहरूको नविकरणमा पनि उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा ८०२ ले बढी उद्योग तथा व्यवसाय नविकरण भएका छन्। २०८१/८२ मा उद्योग तर्फ १,५९८ र बाणिज्य तर्फ १,३९२ गरी कुल २,९९० व्यवसाय नविकरण भएका थिए।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पवन पंजियारका अनुसार नयाँ दर्ता भएका १,७२१ मध्ये ८८८ उद्योग तर्फ, ७५३ बाणिज्य तर्फका प्राइभेट फर्म छन्। साझेदारीमा २० र प्राइभेट लिमिटेडतर्फ ६० उद्योग दर्ता भएका छन्। यो वृद्धिको पछाडि सरकारको शुल्क घटाउने नीति, व्यवसाय प्रवर्द्धन कार्यक्रम, र लगानीमैत्री वातावरण मुख्य कारण रहेको उनको भनाइ छ।

प्रमुख पंजियारका अनुसार नयाँ उद्योग दर्ता गराउनेमध्ये धेरै जना विदेशबाट फर्किएका युवा पनि छन्। यसले विदेश निर्भरता घटाउँदै स्वदेशमै उद्यमशीलता बढ्ने संकेत देखिएको छ।

उनले थपे, “सरकारले दर्ता शुल्क झण्डै १२ हजारबाट घटाएर ७ सय पुर्‍याएको छ भने नविकरण शुल्कमा ८० प्रतिशतसम्म कटौती गरेको छ। यति हुँदाहुँदै पनि राजस्वमा गिरावट आएको छैन। पछिल्लो वर्ष ९७ लाख ३७ हजार एक सय रुपैयाँ राजस्व संकलन भएको छ।”

पर्साको यो प्रवृत्तिले मुलुकभित्रै व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने सकारात्मक सन्देश दिएको भन्दै उद्योगी–व्यवसायीहरू उत्साहित देखिएका छन्। यो वृद्धि दीर्घकालीन रूपले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *