
श्रेणी : मधेस
वीरगन्ज,१४ चैत । चैतदेखि जेठसम्म हावाहुरी चल्ने मौसममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेको छ । विपद् व्यवस्थापन समितिले पर्साका सबै पालिकालाई आगलागीबाट जोगिनका लागि पूर्व तयारीमा बस्न निर्देशन दिए पनि जिल्लाका धेरै पालिकाले वारुणयन्त्र (दमकल) खरिद नगरेको पाइएको छ ।
हालसम्म पर्साका १४ पालिकामध्ये केवल चार वटा पालिकाले मात्र वारुणयन्त्र खरिद गरेका छन् । वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, र सखुवाप्रसौनी गाउँपालिकाले दमकल किनेका भए पनि पर्सागढी नगरपालिकाको वारुणयन्त्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
वीरगन्ज महानगरपालिकाको दमकलले पर्सा, बारा तथा छिमेकी भारतको रक्सौलसम्म सेवा दिँदै आएको छ । पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाका दमकलले पनि अन्य पालिकामा आगलागी नियन्त्रणमा सहयोग पुर्याइरहेका छन् । तर, अधिकांश पालिकाले वारुणयन्त्र खरिद नगर्नु, आगलागी नियन्त्रणका लागि कुनै ठोस योजना नबनाउनु, र जनचेतना कार्यक्रमसमेत नचलाउनु उनीहरूमाथि आलोचना भइरहेको छ ।
वडाध्यक्ष तथा पालिका प्रमुखहरूले चार चक्के गाडी, मोटरसाइकल, इन्धन, मोबाइललगायत अनावश्यक भ्रमणमा लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्, तर वारुणयन्त्र खरिदका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । कतिपय पालिकाहरूले चार चक्के गाडी भाडामा समेत लिएर प्रयोग गरिरहेका छन्, तर आगलागी नियन्त्रणका लागि दमकल खरिदमा प्राथमिकता दिइएको छैन ।
अर्कोतर्फ, २०७४ सालपछि पालिका गठन भएपछि पर्साका १४ पालिकामा दुईभन्दा बढी एम्बुलेन्स सञ्चालनमा छन् । वीरगन्ज महानगरपालिकामा मात्र महानगर, नारायणी अस्पताल, रेडक्रस, रक्तदाता समूहलगायतका संस्थाहरूबाट ६० भन्दा बढी एम्बुलेन्स सञ्चालनमा छन् ।
पोखरिया नगरपालिकामा चार, कालिकामाई गाउँपालिकामा चार, ठोरी गाउँपालिकामा तीन, छिपहरमाई, सखुवाप्रसौनी, जगरनाथपुर र धोबिनीमा दुई/दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
कतिपय पालिकाहरूले सुत्केरी, ज्येष्ठ नागरिक, गरिब तथा विपन्न परिवारलाई नि:शुल्क एम्बुलेन्स सेवा दिइरहेका छन् । सखुवाप्रसौनी गाउँपालिकाले भने सबैका लागि नि:शुल्क सेवा प्रदान गरिरहेको छ । तर, केही पालिकाका एम्बुलेन्सहरू बिरामी नपाएर थन्किने अवस्थामा पुगेका छन् ।
पर्सामा आगलागीको जोखिम बढिरहेका बेला अधिकांश पालिकाले वारुणयन्त्र खरिद नगर्नु चिन्ताको विषय बनेको छ । पालिका प्रमुखहरू व्यक्तिगत सुविधाका लागि खर्च गर्न उदार देखिए पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न बेवास्ता गरिरहेका छन् । अर्कोतर्फ, एम्बुलेन्सको सङ्ख्या आवश्यकता भन्दा बढी हुँदा कतिपय सेवा निष्क्रिय बन्न पुगेका छन् ।
स्थानीय सरकारले आगलागी नियन्त्रणका लागि दमकलको सङ्ख्या बढाउने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, र विपद् व्यवस्थापनमा गम्भीर बन्ने आवश्यक देखिन्छ ।

प्रतिक्रिया