
श्रेणी : मधेस
बीरगन्ज,३१ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पर्सा जिल्लाबाट ४ जीपीए ल्याउन सफल ८ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। सम्मान कार्यक्रममा सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरू समावेश भएका छन्।
सम्मान कार्यक्रम जिल्ला शिक्षा समितिको आयोजना र जिल्ला प्रशासन कार्यालय, पर्साको सहआयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्लास्तरीय विमर्श कार्यक्रमअन्तर्गत सम्पन्न भयो।
सम्मानित विद्यार्थीहरूमा सामुदायिक विद्यालय त्रिजुद्ध माविका सचिन मेहता, संस्थागत विद्यालय कादम्बरी एकेडेमीका सिद्धी शर्मा, साक्षी यादव, यश जयसवाल र सौरभ पाण्डे, गौतम माविका जोया हवारी, दिपीशा रौनियार र आरभ चौरसिया रहेका छन्।
उनीहरूलाई जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय इकाइ पर्साका प्रमुख हरि राउतले जनही १० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरी सम्मानित गरे। साथै, ती विद्यार्थीहरूको अभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू त्रिजुद्ध मावि, कादम्बरी एकेडेमी, गौतम मावि, सिद्धार्थ मावि र जिएचपी माविलाई पनि कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा, जिल्ला मै उत्कृष्ट केन्द्राध्यापक घोषित श्री मावि विजयवस्ती, ठोरीका प्रधानाध्यापक नारायण लामालाई पनि १० हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मान गरियो।
कार्यक्रम जिल्ला समन्वय समिति अध्यक्ष अजय सर्राफको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ प्रमुख हरि राउत, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, अभिभावक संघ पर्सा अध्यक्ष सन्दीप साह, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, साथै १४ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरू र विद्यालयका प्रधानाध्यापकहरूको समेत उल्लेखनीय उपस्थिति थियो।


प्रतिक्रिया