वीरगन्ज :

पर्सागढी–५ मा राजनीतिक भूकम्प: ६० भन्दा बढी नेता–कार्यकर्ता रास्वपामा प्रवेश

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.1kViews
1097 Shares

वीरगंज, ०७ फागुन । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ हर्दियामा राजनीतिक समीकरणमा उल्लेखनीय हलचल देखिएको छ। विभिन्न दल परित्याग गर्दै ६० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता, युवा, बुद्धिजीवी र जेष्ठ नागरिकहरू एकैसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई रास्वपाका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले फूलमाला र गम्छा लगाएर औपचारिक रूपमा स्वागत गरे। कार्यक्रममा सहभागी नवप्रवेशीहरूले परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणको स्पष्ट एजेन्डा रास्वपामै देखिएको जनाएका छन्।
उनीहरूको भनाइमा, आफूहरू यसअघि आबद्ध दलका नेताहरूले चुनावी भीड र सत्तामा पुग्ने साधनका रूपमा मात्रै प्रयोग गरे, तर नीति–निर्णयमा कहिल्यै सुन्ने मान्छे बनेनन्। नवप्रवेशी विकास यादवले भने, “वर्षौँ योगदान दिए पनि नेतृत्व तहमा हाम्रो आवाज दबाइयो। अब देश र जनताको हितमा काम गर्ने वैकल्पिक शक्ति रास्वपा नै हो।”
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले पर्सा जिल्लामा युवाका लागि रोजगारी सिर्जना, स्थानीय उद्यमशीलताको प्रवर्द्धन र सञ्चालनमा रहेका उद्योग–कलकारखानाको उत्पादन क्षमता विस्तार आफ्नो प्रमुख प्राथमिकता भएको बताए।
उनले पर्सागढी नगरपालिका लाई नेपालको महत्त्वपूर्ण ऐतिहासिक पहिचान बोकेको स्थलका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कानुले पर्सा–२ बाट पटक–पटक निर्वाचित भई मन्त्रीसमेत बनेका सांसदहरूले क्षेत्रको आधारभूत विकासमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। “स्वास्थ्य, शिक्षा र पूर्वाधारमा ठोस सुधार देखिँदैन,” उनले भने, “म निर्वाचित भएँ भने स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार, बजार व्यवस्थापन र कृषिको आधुनिकीकरणलाई प्राथमिकताका साथ अघि बढाउँछु।”
उनले मतदातासँग एक पटक अवसर दिन आग्रह गर्दै स्पष्ट प्रतिबद्धता व्यक्त गरे—“काम गर्न सकेनौँ भने अर्को चुनावमा मत माग्न आउँदैनौँ।”
कानुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लाई ‘मधेसको धर्ती पुत्र’ को संज्ञा दिँदै देशले पहिलो पटक मधेसी प्रधानमन्त्री पाउने ऐतिहासिक अवसर नजिकिएको दाबीसमेत गरे। “मधेसी प्रधानमन्त्री देख्न चाहनुहुन्छ भने घण्टी छापमा मतदान गर्नुस्,” उनले मतदातासँग आग्रह गरे।
कार्यक्रमभर रास्वपाका नेता तथा कार्यकर्ताहरूले “अबकी बार बालेन सरकार”, “चुपचाप घण्टी छाप”, “सुशील कानु जिन्दाबाद” जस्ता नाराबाजी गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए। स्थानीय विश्लेषकहरूका अनुसार हर्दियामा भएको यो सामूहिक पार्टी प्रवेशले पर्सा जिल्लामा बढ्दो युवामुखी र परिवर्तनको राजनीतिक लहरलाई थप सशक्त बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *