वीरगन्ज :

पर्सागढी–३ मा टेमानीको घरदैलो अभियान, मतदातालाई सचेत भएर मतदान गर्न आग्रह

श्रेणी : मधेस

1 week
Pradeep Sah
3.0kViews
1118 Shares

वीरगंज (पर्सा), २० माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले पर्सागढी नगरपालिका वडा नम्बर–३ अन्तर्गतका विभिन्न टोलमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार टेमानीले झुलीटार, विरुवागुठी, भाबराह लगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको छ। अभियानमा युवादेखि महिला तथा ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक सहभागी हुँदै उम्मेदवारसँग आफ्ना समस्या र अपेक्षाबारे खुलेर संवाद गरेका थिए।
स्थानीय महिला मतदाताहरूले विगतमा निर्वाचित जनप्रतिनिधिबाट आशा गरेअनुसार काम नभएको गुनासो गरेका थिए। चुनावका बेला मात्रै नेताहरू आउने र जितेपछि जनताबाट टाढा हुने प्रवृत्तिका कारण क्षेत्रका समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ थियो।
स्थानीय युवाहरूले पनि ठूलो आश्वासन र आकर्षक नारामार्फत मत माग्ने पुराना शैलीबाट जनता अब सचेत भइसकेको बताएका छन्। उनीहरूले राजनीतिलाई व्यक्तिगत स्वार्थ र व्यापार बनाउने उम्मेदवारलाई यसपटक मतपत्रबाट जवाफ दिने धारणा व्यक्त गरेका छन्। क्षेत्रबाट पुरानै अनुहारहरूले उम्मेदवारी दिएको भए पनि हालसम्म जनतामाझ नआएको भन्दै उनीहरूले विकल्पका रूपमा टेमानीलाई अघि सारेका छन्।
स्थानीयका अनुसार शिक्षा क्षेत्रमा दक्षता हासिल गरेका तथा सफल उद्योगीको पहिचान बनाएका टेमानीले क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका कारण उनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
घरदैलो कार्यक्रमका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै टेमानीले क्षेत्रको वास्तविक समस्या बुझेर समाधानको पहल गर्न आफू चुनावी मैदानमा उत्रिएको बताए। उनले मतदातालाई कुनै प्रभाव वा बहकाउमा नपरी उम्मेदवारको क्षमता, पृष्ठभूमि र योजनाबारे बुझेर मात्रै मतदान गर्न आग्रह गरे।


टेमानीले मतदातालाई एउटै दललाई अवसर दिएर पाँच वर्षसम्म मूल्यांकन गर्न आग्रह गर्दै जनताको मत अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सही प्रतिनिधि चयन गरेर मात्रै क्षेत्रको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे।
उक्त घरदैलो कार्यक्रममा जसपाका नेता–कार्यकर्ता, स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *