श्रेणी : मधेस
वीरगंज, २७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिकाका वडा नम्बर ६ र ७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार टेमानीले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका यथार्थ समस्या बुझ्ने प्रयास गरेका छन्। कृषि मुख्य पेशा भए पनि आधुनिक सिँचाइ प्रणाली, कृषि प्रविधि र बजार पहुँचको अभावका कारण किसानहरूले अपेक्षित आम्दानी गर्न नसकिरहेको अवस्था स्थानीयले टेमानीसमक्ष राखेका थिए।
त्यसैगरी स्वास्थ्य चौकीहरूमा औषधि तथा जनशक्ति अभाव, विद्यालयहरूमा भौतिक संरचना, शिक्षक र गुणस्तरीय शिक्षाको कमी, साथै वर्षायाममा सडक हिलाम्मे भई यातायात अवरुद्ध हुने समस्याले सेवा केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको जनगुनासो रहेको छ।
यी सबै समस्यालाई केन्द्रमा राख्दै उम्मेदवार टेमानीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। जनतासँगको संवादका क्रममा उनले “समस्या कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ” भन्ने धारणा राख्दै स्थानीयका गुनासा ध्यानपूर्वक सुन्ने, तथ्य संकलन गर्ने र समाधानका सम्भावित उपायबारे छलफल गर्दै आएका छन्।
टेमानीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार उम्मेदवार टेमानीको सरल शैली, प्रत्यक्ष संवाद र समस्या समाधानमुखी दृष्टिकोणले जनतामा नयाँ आशा जागेको छ।
स्थानीयको उल्लेख्य सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत जसपा नेपालले पर्सा–२ मा स्थानीय आवश्यकता र जनजीवनसँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियानलाई अघि बढाइरहेको देखिन्छ।

प्रतिक्रिया