
श्रेणी : मधेस
बीरगन्ज,१४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको पोखरियामा चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने घोषणा गरेका छन्। एमाले पर्सा जिल्ला कमिटीद्वारा सखुवा प्रसौँनीको ओैराहा पचगावामा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय मागका आधारमा यस कदमलाई प्राथमिकतामा राखिएको बताए।
प्रधानमन्त्री ओलीले क्रान्ति भनेको तोडफोड र जुलुसमा मात्र सीमित नभएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको बताए।
“हामी क्रान्तिकारी हौं, तर हाम्रो क्रान्ति जनताको जीवनस्तर उकास्ने हो,” उनले भने। “मधेसका नेताहरूले संविधानका धाराको राजनीतिमा जनता अलमल्याए, तर हामी उत्पादन र उद्यमशीलतामा आधारित विकासलाई प्राथमिकता दिन्छौं।”
प्रधानमन्त्री ओलीले पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको, नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना भइसकेको र छिट्टै इलाका प्रशासन कार्यालय पनि सञ्चालनमा आउने बताए।
कार्यक्रममा उनले बालबालिका र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा महिला र युवालाई सामाजिक तथा राजनीतिकरूपमा सशक्त बनाउन विशेष जोड दिए। “महिला र युवालाई परिचालन नगरी बलियो जनपक्षीय पार्टी निर्माण सम्भव छैन,” ओलीले स्थानीय नेतृत्वलाई निर्देश गर्दै भने।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशका आठै जिल्लामा एमालेको प्रवेशलहर फैलिने विश्वास व्यक्त गर्दै विकास, सुशासन, र जनजीवनमा परिवर्तनका लागि वर्तमान सरकार कटिबद्ध रहेको उल्लेख गरे।

प्रतिक्रिया