वीरगन्ज :

पर्साको पटेर्वा सुगौलीमा तीन दिने माघी तथा भाथा महोत्सव: जंगल सफारी र थारु संस्कृतिको प्रदर्शन

श्रेणी : धर्म संस्कृति

3 weeks
Pradeep Sah
2.0kViews
1809 Shares

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी तथा भाथा महोत्सवको आयोजना गर्दैछ। मंगलबारदेखि सुरु हुने महोत्सव माघ ३ गतेसम्म चल्नेछ। गाउँपालिकाको वडा नम्बर ४, दापा सुगौलीस्थित खेलमैदानमा आयोजना हुने महोत्सवले स्थानीय संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेको छ।

महोत्सवमा थारु समुदायका परम्परागत खाना, पहिरन र भेषभूषाको प्रदर्शनी हुनेछ। साथमा ढकिया–पथिया, दुना–टपरी, नारी सुरक्षा सेनेटरी प्याड र कृषि औजारजस्ता स्थानीय उत्पादनका स्टलहरू राखिनेछ। पहिलो दिन रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ।

महोत्सवको मुख्य आकर्षण पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको भाथा धामसम्मको जीप र हात्ती सफारी हुनेछ। जीप सफारीको शुल्क प्रति व्यक्ति ६ सय रुपैयाँ तोकिएको छ भने जीप र हात्ती दुवैको सफारीका लागि १ हजार २ सय रुपैयाँ तोकिएको छ। भाथा धाम र दग्धेश्वरनाथ महादेव मन्दिरको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धन महोत्सवको प्रमुख उद्देश्य हो। तीन दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्। महोत्सवको उद्घाटन थारु समुदायका अगुवा परमेश्वर गौरेले गर्नेछन् भने कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले गर्नेछन्।

महोत्सवले स्थानीय कला, संस्कृति र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *