
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगंज, १४ माघ- पर्साको अमरपट्टी नाकामा केही महिनादेखि जारी तस्करी अझै रोकिएको छैन। नेपाल प्रहरीका एसपी कुमोद ढुङ्गेल सरुवा भइसकेपछि अर्को एसपीले पर्साको चार्ज नलिँदा यस क्षेत्रमा तस्करी झन् बढेको छ। यसबीच सशस्त्र प्रहरीका डिआईजी कालीदास धवजीले पर्सामा दुई दिन बसेर सीमा नाका अवलोकन गर्दै मातहतका सशस्त्र प्रहरी एसपी र डिएसपीहरूलाई तस्करी रोक्न कडा निर्देशन दिएर फर्किएका थिए। तर, तस्करी रोक्न कुनै प्रभावकारी कदम उठाइएको छैन।
पर्साका ग्रामीण इलाकाका नाकाहरूमा अहिले पनि खुलेआम तस्करी भइरहेको छ। विदेशी मालसामान नेपालमा चोरबाटोबाट भित्र्याउँदा सरकारको करोडौं रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ। तर, पर्साका दुवै प्रहरी संगठनका प्रमुखहरू मौन बसेका छन्।
स्रोतका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै प्रमुखहरूले भारतीय नागरिक विकास कुमारसँग मोटो रकम खाएका कारण तस्करी रोक्न सक्रियता देखाएका छैनन्। स्रोतको दाबीअनुसार अमरपट्टी नाका अहिले पूर्ण रूपमा भारतीय नागरिक तथा कुख्यात तस्कर विकास कुमारको नियन्त्रणमा छ। उनीमार्फत अन्य साना तस्करहरूले पनि अवैध रूपमा मालसामान ओसारपसार गरिरहेका छन्।
भारतीय र नेपाली बजारको राम्रो जानकारी राख्ने कुमार हुन्डी कारोबारमा समेत सक्रिय छन्। अमरपट्टी नाका अहिले तस्करी मात्र नभई हुन्डी कारोबारको पनि ट्रान्जिट प्वाइन्ट बनेको छ। मटर तस्करीमार्फत मोटो रकम कमाएका कुख्यात तस्कर उत्तम तिवारी, सन्दीप दास, राहुल चतुर्वेदी, धनञ्जय, धर्मेन्द्र, र स्वरूपलगायत अन्य तस्करहरू पनि सक्रिय छन्।
अमरपट्टी प्रहरी चौकीका वरिष्ठ सई मदनबहादुर मल्ल र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरूप शर्माले तस्कर समूहहरूबीचको विवाद मिलाउन समेत भूमिका खेलेको स्रोतको दाबी छ। प्रहरीले तस्करी नभएको प्रतिक्रिया दिने गरे पनि कुनै पनि दिन तस्करी रोकिएको छैन।
राति १० बजेदेखि बिहानभर अमरपट्टी नाकाबाट पिकअप भ्यानमार्फत लसुन, अखरोट, पपकर्न, हड्डीको स्क्र्याप, काजुलगायतका सामग्रीहरूको तस्करी भइरहेको छ। विभिन्न पत्रपत्रिकामा तस्करीसम्बन्धी समाचार प्रकाशित भइरहे पनि आइतबार राति समेत अमरपट्टी नाकामा रातभरी खुलेआम तस्करी भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया