वीरगन्ज :

पर्साका मूर्तिकार बलिराम कोहार, महायज्ञका लागि १,०११ देव मूर्तिहरू बनाउँदै

श्रेणी : धर्म संस्कृति

7 days
Pradeep Sah
2.2kViews
1074 Shares

वीरगन्ज,१६ माघ । उमेरले ५५ पार गरे पनि बलिराम कोहारको जोशजाँगर कुनै तन्नेरीभन्दा कम छैन। तीन दशकदेखि देवी-देवताका मूर्ति बनाउँदै आएका पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाका मूर्तिकार कोहार अहिले आफ्नो जीवनकै सबैभन्दा ठूलो प्रोजेक्टमा व्यस्त छन्। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा यही माघ २४ गतेदेखि सुरु हुने श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ का लागि कोहार नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मा पाएको छ।

कोहारका अनुसार यी मूर्तिहरू पौराणिक कथाहरूलाई मूर्तरूप दिने खालका हुनेछन्। रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्यलिला, कुरुक्षेत्र, लंकाकाण्ड लगायतका ऐतिहासिक प्रसङ्गलाई मूर्तिमा उतार्न टोलीले अहोरात्र परिश्रम गरिरहेको छ। डेढ महिनादेखि १८ जना कालिगढको सहयोगमा यो काम भइरहेको छ।

“माटोलाई कुदेर भगवानको आकृति बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ,” कोहार भन्छन्। माटोको यही कला उनको पाँचजनाको परिवार पाल्ने साधन बनेको छ। मूर्ति निर्माणबाट वार्षिक चार लाख रुपैयाँसम्म बचत हुने बताउने कोहारले यही आम्दानीबाट तीन छोरी र दुई छोरालाई उच्च शिक्षा प्रदान गरिरहेका छन्।

कोहारले एक हजार ११ मूर्ति निर्माणमा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन्। साना मूर्तिको मूल्य १,५०० देखि ५,००० रुपैयाँसम्म पर्ने जानकारी पनि उनले दिए। विगतमा २१, ५१, एक सय एक र दुई सय एक मूर्तिहरू बनाएका उनले पहिलो पटक यति ठूलो परिमाणमा मूर्ति निर्माणको अवसर पाएका छन्।

महायज्ञ मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवका अनुसार मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। महायज्ञ माघ २४ देखि फागुन १५ सम्म सञ्चालन हुनेछ। प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै सामाजिक कार्यमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

यो महायज्ञले स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै धार्मिक आस्थालाई पुनर्जागृत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *