श्रेणी : मधेस
वीरगन्ज,१५ माघ । सात महिनादेखि तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको चाबी प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई बुझाएपछि पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरूमा १० दिनदेखि पढाइ ठप्प छ।
माघ ६ गतेदेखि नगरपालिकाअन्तर्गतका २० सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरूले चाबी बुझाएका थिए। लामो समयदेखि तलब नपाउँदा जीविकोपार्जनमै समस्या भएको भन्दै शिक्षकहरू आन्दोलित बनेका हुन्। शिक्षकहरूको आन्दोलनसँगै विद्यार्थीको पढाइ पूर्ण रूपमा अवरुद्ध भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बहुदरमाई नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तलब पाएका छैनन्। गत कात्तिक ८ मा नगरपालिकाको बजेट नगरसभामा प्रस्तुत भए पनि मेयर सिंघासन साह तेलीले प्रमाणीकरण नगर्दा बजेट निकासा हुन सकेको छैन।
नगरपालिकामा बजेट प्रमाणीकरण नहुँदा प्रशासनिक कार्य ठप्प भएको छ। नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विद्यालयको चाबी बुझाउनुपरेको बताए।
शिक्षकहरूले तलब नपाएको विषयमा विद्यार्थी र अभिभावक पनि आक्रोशित बनेका छन्। गत पुस ५ गते आन्दोलित समूहले बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। उक्त घटनामा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
विद्यालय बन्दको १० औं दिन बित्दा पनि समाधानका लागि कुनै ठोस पहल नभएको शिक्षकहरूको गुनासो छ। अध्यक्ष यादवले भने, “समस्या समाधान गर्न सरोकारवाला पक्ष अग्रसर नभएपछि स्थिति झन् विकराल बन्दै गएको छ।”
स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० सम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। तर बहुदरमाई नगरपालिकाले चार महिनापछि मात्र बजेट प्रस्तुत गरेको र अझै मेयरले खर्च स्वीकृति नदिँदा यो समस्या चुलिएको हो।
प्रतिक्रिया