वीरगन्ज :

पर्साका नेताहरू टिकटका लागि पार्टीका नेताहरूको घरदैलो, चुनावी लडाइँ फेरि पनि पुरानै अनुहारबीच हुने संकेत

श्रेणी : BANNER

4 days
Pradeep Sah
1.8kViews
1501 Shares

वीरगञ्ज, १ माघ –   पर्सा जिल्लाका केही ‘सदाबहार’ नेताहरू यसपटक पनि चुनावी टिकट सुनिश्चित गर्न विभिन्न पार्टीका नेताहरूको घरदैलो धाइरहेका छन्। सिद्धान्तभन्दा पनि जसरी भए पनि चुनाव लड्ने प्रवृत्तिका कारण पर्साको राजनीतिक अवस्था यसपटक कमजोर देखिएको विश्लेषकहरू बताउँछन्।

नेपाली कांग्रेसभित्र देखिएको विभाजन र वैध–अवैधताको टुंगो नलागेसम्म केही नेताहरू दोहोरो भूमिका निर्वाह गरिरहेको स्रोतको दाबी छ। यसैबीच, नेपाली कम्युनिष्ट पार्टीबाट कारबाहीको सम्भावना देखेपछि राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका युवा नेता रोहवर अंसारी पर्सा निर्वाचन क्षेत्र नं. १ वा बारा क्षेत्र नं. ४ बाट टिकट पाउने चाहनामा देखिएका छन्। तर पार्टीले औपचारिक कार्यक्रममार्फत उनको प्रवेश गराउन चासो नदेखाएको बताइन्छ। अंसारी स्वयं पार्टीको एपमार्फत रास्वपा प्रवेश गरेका हुन्। उनको राजनीतिक अवस्थाबारे पार्टीभित्रै स्पष्टता नदेखिएको जनाइएको छ।

अघिल्लो निर्वाचनमा पराजित भएका अजय द्विवेदी यसपटक पनि पुनः राजनीतिक ‘हिरो’ बन्ने दाउमा देखिएका छन्। नेपाली कांग्रेसभित्र उनीमाथिको कारबाही फुकुवा भए पनि भित्रभित्रै रास्वपाको सदस्यता लिइसकेको चर्चा चलिरहेको छ। यस्तै, कांग्रेसका अनिल रुगटा पनि पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा देखिएका छन्। उनले सार्वजनिक रूपमा नबताए पनि विभिन्न पार्टीमा टिकटका लागि पहल गरिरहेको स्रोतको दाबी छ।

कांग्रेसभित्र शेखर कोइराला पक्षधर मानिएका द्विवेदी नेपाली कांग्रेस वा रास्वपा दुवैबाट टिकट सुनिश्चित गर्न लबिङमा जुटेको बताइन्छ। उनको प्राथमिक रोजाइ पनि क्षेत्र नं. १ नै रहेको छ। यस्तै, ‘आफू नेता भए मात्र क्षेत्रको विकास सम्भव हुन्छ’ भन्ने दाबी गर्दै आएका सुरेन्द्र चौधरी, रमेश रिजाल, जामिल मियाँलगायत नेताहरू जसरी भए पनि चुनाव लड्ने मनसायमा छन्। पर्सा क्षेत्र नं. १ बाट पूर्वमन्त्री प्रदीप यादवको उम्मेदवारी पनि लगभग निश्चित मानिएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पुराना नेता रमेश रिजाललाई टक्कर दिने नयाँ पुस्ताका बलिया उम्मेदवार नदेखिएको अवस्था छ। क्षेत्र नं. २ बाट पराग सिंहले निर्वाचन लड्ने घोषणा गरिसकेका छन्, तर टिकट अझै सुनिश्चित भएको छैन। रास्वपा पर्सामा टिकटको विषयलाई लिएर दुई समूहबीच रस्साकस्सी सुरु भइसकेको छ।

त्यस्तै, नेपाली कांग्रेसका अजय चौरसिया र राजेन्द्रबहादुर आमात्यको रोजाइ पनि क्षेत्र नं. २ नै रहेको छ। तर पार्टी विभाजनको अवस्थाले उनीहरूको भविष्य अन्योलमा छ। उक्त क्षेत्रमा नयाँ र बलिया युवा उम्मेदवार देखिएका छैनन्। यद्यपि, नेकपाबाट मनोज चौधरी, राप्रपाबाट विना जैसवाललगायतका नाम चर्चामा छन्।

पर्सा क्षेत्र नं. ३ मा यसअघि सुरेन्द्र चौधरीलाई हराएका नेकपा एमालेका नेता राजकुमार गुप्ता हाल कारागारमा छन्।यसअघिका अधिकांश निर्वाचनमा भाग लिएका नेताहरू यसपटक पनि पुनः उम्मेदवार बन्ने तयारीमा देखिएका छन्। टिकट सीमित र गठबन्धनको सम्भावना बलियो देखिएपछि नेताहरू सिद्धान्त र जनताको चाहनाभन्दा पनि ‘कसरी टिकट पक्का गर्ने’ दौडमा सक्रिय भएका छन्।

पर्साका अधिकांश नेताहरूसँग सम्पर्क गर्दा एउटै जवाफ आउने गरेको छ— “अहिले केही फाइनल भएको छैन, यही कामका लागि काठमाडौंमा छु।”
जेन–जी आन्दोलनपछि रास्वपा प्रवेश आकर्षक बने पनि पार्टीले सबै आकांक्षीलाई टिकट दिन नसक्ने स्पष्ट पारिसकेको छ।

नेपाली कांग्रेसपछि पर्सामा सबैभन्दा बढी टिकट आकांक्षी देखिएको पार्टीका रूपमा रास्वपा अगाडि आएको छ। नेपाली राजनीतिमा सिद्धान्तभन्दा जितलाई प्राथमिकता दिने प्रवृत्ति हावी हुँदा नेता–कार्यकर्ता पार्टी परिवर्तन गरेर भए पनि टिकट सुनिश्चित गर्न मरिहत्ते गरिरहेका छन्। पर्साका धेरै नेताहरू ‘दुई नावमा सवार’ देखिएका छन्— एउटामा डुब्ने संकेत देखिए अर्कोमा आफू सुरक्षित रहेको दाबी गर्ने रणनीतिसहित।

जेन–जी आन्दोलनपछि उत्साहित युवा नेताहरूको अवस्था पनि पर्सामा सन्तोषजनक देखिएको छैन। उम्मेदवार बन्ने आकांक्षी धेरै भए पनि पार्टीभित्रै टिकट सुनिश्चित गर्ने अवस्था कमजोर रहेको जानकारहरू बताउँछन्। युवा नेताहरू पार्टीका शीर्ष नेताको घर चहारिरहेका छन्, तर टिकटको ग्यारेन्टी भने कतै देखिँदैन।

युवामा उत्साह नयाँ भए पनि पर्सामा चुनावी लडाइँ फेरि पनि पुरानै शैली र पुरानै अनुहारबीच हुने संकेत देखिन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *