
श्रेणी : मधेस
बीरगन्ज,३१ जेठ । संगठन विस्तार र कार्यकर्ता सशक्तिकरणमा केन्द्रित जनमत पार्टीले पर्सा जिल्लाका सबै चार संघीय निर्वाचन क्षेत्रमा संगठनात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका संगठन विभाग प्रमुख तथा राष्ट्रिय परिषदका अध्यक्ष डा. जयकान्त राउतको प्रमुख आतिथ्यमा हुने दुईदिने यो कार्यक्रमले कार्यकर्तालाई पार्टीको नीति, विचारधारा, संगठन निर्माण र आगामी रणनीतिबारे सुसूचित गर्ने उद्देश्य राखेको छ।
पार्टीले सार्वजनिक गरेको तालिकाअनुसार, क्षेत्र नम्बर १ का लागि असार ११ गते बिहान ७ बजेदेखि बीरगन्जको जिल्ला समन्वय समिति सभाहलमा कार्यक्रम हुनेछ। सोही दिन दिउँसो २ बजे क्षेत्र नम्बर २ का कार्यकर्ताका लागि सोही स्थानमा अर्को सत्र सञ्चालन हुनेछ।
क्षेत्र नम्बर ३ का लागि पोखरिया–९ स्थित विशाल हनुमान मन्दिर धर्मशालामा बिहान ७ बजे र क्षेत्र नम्बर ४ का लागि दिउँसो २ बजे धोबिनी गाउँपालिका, अस्वारी नहर रोडमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ। विशेषतः दक्षिणी पर्साका कार्यकर्तालाई लक्षित गर्दै धोबिनीमा कार्यक्रम राखिएको जनाइएको छ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, कार्यक्रममा केन्द्रीय नेताहरू, राष्ट्रिय परिषद सदस्यहरू, जिल्ला तथा स्थानीय तहका पदाधिकारी र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहनेछ।
डा. जयकान्त राउतले प्रशिक्षणमार्फत संगठन सुदृढीकरणका उपाय, आगामी निर्वाचनका रणनीति, जनजीविकाका सवालमा पार्टीको धारणा तथा मधेशका मुद्दाहरूमा पार्टीको अडानबारे स्पष्ट सन्देश दिनेछन्।
कार्यक्रमले पार्टीलाई स्थानीय तहमा थप मजबुत बनाउने र जनस्तरसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने विश्वास गरिएको छ।


प्रतिक्रिया