बीरगन्ज,०२ साउन । पर्साको ग्रामीण भेगमा लागू औषध दुव्र्यसन एक गम्भीर सामाजिक संकटका रूपमा उक्लिँदै गएको छ। जाडरक्सी, चुरोट, सुर्ती, गुटखा जस्ता नशालु पदार्थको सामान्य प्रयोगबाट सुरु भएको लत अहिले गाँजा, चरेस, नशाको ट्याब्लेट र इन्जेक्सन जस्ता खतरनाक लागू औषधसम्म फैलिएको छ।
युवाहरू हिंसा र आपराधिक क्रियाकलापतर्फ मोडिँदै
प्रहरी र स्थानीयवासीहरूका अनुसार, नशाको प्रयोगले युवाहरू चेतनाशून्य, आक्रामक र हिंसात्मक बन्दै गइरहेका छन्। गाउँहरूमा चोरी, झैँ–झगडा, घरेलु हिंसा र सवारी दुर्घटनामा वृद्धि भएको छ। झन चिन्ताजनक कुरा के हो भने, विद्यालय पढ्ने किशोरहरू समेत यो दलदलमा फस्न थालेका छन्।
सीमापारिबाट नशालु इन्जेक्सनको तस्करी
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, भारतबाट सीमापारि हुँदै नशालु ट्याब्लेट र इन्जेक्सन भित्रिने क्रम बढ्दो छ। खुलेको सीमा र स्थानीय मौनताको कारण प्रहरीका प्रयास प्रभावकारी बन्न सकेका छैनन्। “अधिकांश कारोबारी १५ देखि २५ वर्ष उमेर समूहका युवा हुन्,” थापाले बताए।
उनले थपे, “समुदायको सहयोगबिना प्रहरीको निगरानी कमजोर हुन्छ। अब सबै पक्षले मिलेर काम नगरे युवा पुस्ता अन्धकारमा हराउनेछ।”
स्थानीय सरकार मौन, बजेट कागजमै सीमित
ठोरी गाउँपालिका–५, सुवर्णपुरका बासिन्दा रामबहादुर पाख्रिनले भने, “गाउँमा पनि नशा उस्तै फैलिएको छ, तर स्थानीय सरकारबाट यसको नियन्त्रणका लागि कुनै उल्लेखनीय पहल भएको छैन।”
उनको आरोप छ— “प्रत्येक वर्ष लाखौं रुपैयाँ लागू औषध नियन्त्रणका लागि छुट्याइए पनि ती बजेट कागजी कार्यक्रम र नजिकका संस्थालाई वितरण गरेर सकिन्छ। व्यवहारमा केही नगरे पनि बन्द कोठामा प्रतिवेदन बुझाएर काम पूरा देखाउने प्रवृत्ति हावी छ।”
घरबाटै सुरु हुन्छ दुव्र्यसनको यात्रा
सामाजिक अभियन्ता प्रकाश थारुले दुव्र्यसनको मूल जड घरपरिवारकै वातावरण भएको बताउँछन्। “छोराछोरीलाई बाल्यकालमै चुरोट वा सुर्ती किन्न पठाउने, आफ्नै सामुने सेवन गर्ने, यिनै क्रियाकलापले बालमस्तिष्कमा नशाको बीउ रोप्ने काम गर्छ,” उनले भने।
थारुका अनुसार, “२० वर्षअघि गाउँमा ‘दुव्र्यसन’ भन्ने शब्दसमेत थिँएन। अहिले भने यो महामारीसरह फैलिएको छ। यदि तुरुन्त प्रभावकारी कदम चालिएन भने एक पुस्ता नै बर्बाद हुनेछ।”
प्रतिक्रिया