वीरगन्ज :

पर्साकाे बीरगन्ज र पोखरियामा हैजा नियन्त्रणमा चुनौती, संक्रमित संख्या १७५ पुग्यो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1009 Shares

बीरगन्ज,१५ भदाै । पर्सा जिल्लामा हैजा र झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। सरोकारवालाले संक्रमण दर घट्दै गएको दाबी गरे पनि नयाँ संक्रमित थपिँदै जाँदा स्थिति चिन्ताजनक बनेको छ।

बीरगन्ज महानगरपालिकाले आइतबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार, महानगरमा मात्रै हैजा संक्रमितको संख्या १५९ पुगेको छ। उता पोखरिया अस्पतालमा उपचाररत बिरामीमध्ये १६ जनामा हैजा पुष्टि भएपछि जिल्लाभर संक्रमितको संख्या १७५ पुगेको हो।

संक्रमण नियन्त्रणका लागि महानगरपालिकाले एक सातादेखि सम्पूर्ण विद्यालय बन्द राखेको छ। खानेपानी शुद्धीकरण र सरसफाइमा पनि अभियान चलाइए पनि हैजाको जीवाणु फैलिने वास्तविक स्रोत अझै पत्ता लाग्न सकेको छैन। सुरुवाती अनुमान विपरीत खानेपानी संस्थान र डिप बोरिङको पानीमा हैजाको जीवाणु भेटिएन भने अन्य माध्यममा परीक्षण गर्ने पहलसमेत भएको छैन। यसले सर्वसाधारणलाई अन्योलमा पारेको छ।

महानगरको स्वास्थ्य महाशाखाका अनुसार आइतबार बिहानसम्म वीरगन्जस्थित विभिन्न अस्पतालमा ८०४ बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ३० नयाँ बिरामी हुन्। कुल बिरामीमध्ये ६०९ निको भई घर फर्किसकेका छन् भने १९५ अझै उपचाररत छन्। तीमध्ये ४७ जनामा हैजा पुष्टि भएको छ। बाँकी १७२ जना विभिन्न अस्पतालको सामान्य वार्डमा, ६ जना एचडीयुमा र १७ जना आइसियुमा उपचाररत छन्।

पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियारका अनुसार त्यहाँ हालसम्म ३० जना झाडापखाला तथा हैजाका बिरामी भर्ना भएका छन्। तीमध्ये १६ जनामा हैजा पुष्टि भइसकेको छ। शनिबारदेखि आइतबारसम्म दुई नयाँ बिरामी थपिएका छन् भने आधा दर्जन उपचारपछि डिस्चार्ज भएका छन्।

संक्रमण दर घट्दै गएको दाबी भए पनि संक्रमितको संख्या दिनहुँ बढिरहेका कारण स्वास्थ्यकर्मीले सतर्कता अझै बढाउनुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *