वीरगन्ज :

परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण, तर पीत पत्रकारिता हावी : मातृका यादव

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.5kViews
1546 Shares

जनकपुर, १० फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले मुलुकमा भएका परिवर्तनहरूमा नेपाली पत्रकारिताको ठूलो योगदान रहेको बताएका छन् । तर, पछिल्लो समय पत्रकारितामा भ्रम सिर्जना गर्ने र पीत पत्रकारिता हाबी भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

शनिबार महोत्तरीको बर्दिबासमा आयोजित प्रेस सेन्टर नेपाल, मधेस प्रदेशको पाँचौँ अधिवेशन उद्घाटन गर्दै यादवले पत्रकारिताको भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने बताए। उनका अनुसार, पत्रकारहरूले जनता भ्रमित पार्ने होइन, वास्तविकता उजागर गर्ने कार्य गर्नुपर्छ ।

उनले अहिले देशमा भइरहेका गतिविधिहरूलाई “नौटंकी” भन्दै तिनलाई नंग्याउने दायित्व पत्रकारहरूको भएको बताए। साथै, संगठनहरू जनवादी केन्द्रीयताका आधारमा सञ्चालन हुनुपर्ने धारणा राख्दै यादवले हालका सञ्चार संगठनहरू “कम्पनीको जस्तो” ढाँचामा चलिरहेको गुनासो गरे ।

यादवले मधेसमा अझै पनि सामन्ती सोचको प्रभाव रहेको बताए। “राजालाई त फालियो, तर मधेसमा अझै सामन्ती मानसिकता र दास प्रवृत्तिको बोलवाला छ,” उनले भने। मधेसी समुदायमा व्याप्त गलत धारणाहरू सच्याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

यादवले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार आलोचनात्मक रूपमा लिए। “विशेष अवस्थामा मात्र अध्यादेश ल्याउने व्यवस्था संविधानमा भए पनि सरकारले अध्यादेशकै भरमा देश चलाउन खोजेको छ,” उनले भने। भूमि व्यवस्थासम्बन्धी अध्यादेश ल्याएर भूमाफियालाई पोस्ने काम भइरहेको उनको आरोप थियो ।

यादवले संघीयता स्थापनाका लागि जनयुद्ध गर्नेहरूलाई अहिले हिंस्रक भनेर होच्याउने प्रवृत्ति गलत भएको बताए। “राष्ट्रियता जोगाउने, उत्पीडित वर्गको उत्थान गर्ने काम नगर्नेहरू नै संघीयता ल्याउनेहरूलाई हिंस्रक भन्न थालिरहेका छन्,” उनले टिप्पणी गरे ।

अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह, प्रेस सेन्टर नेपालका उपमहासचिव हिरालाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सुनिता बरालले गरेकी थिइन् भने सञ्चालन महासचिव गोपाल गुप्ताले गरेका थिए । अधिवेशनमा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *