
श्रेणी : BANNER
दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले मंगलबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताए ।
उनले पाँच वर्ष सरकारलाई निरन्तरता दिएर जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै भने, “जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन ।” महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको बताए ।
देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्न उनले सुझाव दिए । “रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ । तबमात्र परिणाम आउँछ”, थापाले भने ।
खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको महामन्त्री थापाले बताए । उनले जनतामा विश्वास जागृत गराउनुपर्ने उल्लेख गर्दै मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने बताए ।
वैशाख १० गते हुने उपनिर्वाचनले सरकार गठन प्रक्रियामा केही प्रभाव नपर्ने भए पनि राजनीतिमा कस्तो व्यक्ति पुरस्कृत हुने भन्ने सन्देश दिनुपर्ने उनको भनाइ थियो । मङ्सिरमा सम्पन्न निर्वाचनमा तनहुँका जनताले दिएको मतका कारण आज तनहुँले राष्ट्रपति पाएको भन्दै महामन्त्री थापाले राष्ट्रपतिले संवैधानिक दायित्व सफलतापूर्वक पूरा गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताए । कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांग्रेसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो ।
गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांगे्रसले न्याय गरेको भन्दै धेरै युवा उहाँलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उनले बताए । तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उहाँको जित अनिवार्य रहेको महामन्त्री शर्माले बताए ।
देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै महामन्त्री शर्माले देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने बताए । “देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ सङ्कल्प बोकेका छौँ, “महामन्त्री शर्माले भने । आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो ।
राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दैै उनले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताए। पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उनले बताए ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताए । नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको उनको भनाइ थियो ।
“नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछ”, उनले भने, “लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ ।”
वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गरे । “यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि हो”, गुरुङले भने, “प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ ।”
महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गरे ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए । उनले गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उनले बाए । पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गरिन् ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले सङ्घीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।


प्रतिक्रिया