
श्रेणी : BANNER
बीरगन्ज,१८ वैशाख । नेपाल–भारत सीमामा आवतजावत गर्न परिचयपत्र अनिवार्य भएको भन्ने हल्लाले सर्वसाधारणमा अन्योल सिर्जना भएको छ। तर, अधिकारीहरूका अनुसार यस्ता कुनै पनि नियम औपचारिक रूपमा लागू गरिएको छैन।
बिहीबार बिहानैदेखि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा नेपाल–भारत सीमामा आवतजावतका क्रममा नागरिकले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने नयाँ नियम लागू गरिएको दाबी गरिएको थियो। तर, सीमा क्षेत्रको स्थलगत अवस्था भने फरक देखिएको छ।
स्थानीय सुरक्षाकर्मीहरूले सामान्य चेकजाँच मात्रै
भारतको रक्सौलबाट फर्केका नेपालीहरू र नेपाल प्रवेश गर्ने भारतीयहरूले दुवैतर्फका सुरक्षाकर्मीहरूले परिचयपत्र मागेको बताएका छैनन्। उनीहरूका अनुसार सीमामा सामान्य सुरक्षा चेकजाँच मात्र भएको छ, जुन पहिले जस्तै नियमित प्रक्रिया हो।
नेपालतर्फ सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरूले पनि परिचयपत्र देखाउन माग नगरेको पुष्टि भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका उपरीक्षक राधेश्याम धिमालले भने, “सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ, तर परिचयपत्र अनिवार्यजस्तो कुनै निर्णय भएको छैन।”
आतंकवादी आक्रमणपछि चेकजाँच मात्र कडाइ
भारतको काश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि दुवै देशका सुरक्षाकर्मीहरूले सीमामा निगरानी कडाइ गरेका छन्। तर, परिचयपत्र अनिवार्य बनाउने विषयमा नेपाल र भारतबीच कुनै औपचारिक सहमति नभएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपाल सशस्त्र प्रहरी बल स्रोतहरूले जनाएका छन्।
‘हल्लामात्र हो’: प्रमुख जिल्ला अधिकारी अर्याल
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाचारमा आएको दाबीको खण्डन गर्दै भने, “परिचयपत्र अनिवार्य बनाइएको भन्ने खबरमा कुनै सत्यता छैन। न त कुनै निर्णय गरिएको छ, न त यसबारे कुनै आधिकारिक जानकारी आएको छ।” उनका अनुसार, सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको सूचना केवल हल्ला मात्रै हो।

प्रतिक्रिया