श्रेणी : BANNER
वीरगंज (पर्सा), १९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनावी माहोल परम्परागत नाराबाजीभन्दा फरक दिशातर्फ मोडिएको देखिन्छ । नेकपा (एमाले)का उम्मेदवार रूपेश पाण्डे चुनावी मैदानमा ‘नेता’को हैसियत होइन, स्थानीय जनताको समस्या बुझ्ने र समाधान खोज्ने जिम्मेवार पात्रका रूपमा प्रस्तुत भइरहेका छन् ।
काठमाडौंमा सफल व्यवसायिक जीवन बिताइरहेका पाण्डेले करिब चार वर्षअघि आफ्नो जन्मभूमि पर्सा–३ रोजे । सत्ता, पद वा राजनीतिक हैसियतभन्दा बाहिर रहेर गाउँ–बस्तीमा समय बिताउँदै आएका उनी अहिले स्थानीय जनतामाझ परिचित नाम बनेका छन् । उनका अनुसार राजनीतिमा आउनुको मूल कारण स्वार्थ नभई माटोप्रतिको दायित्व हो ।
“आफ्नै ठाउँको अवस्था देख्दा चुप लागेर बस्न सकिनँ,” पाण्डे भन्छन्, “समस्या देखेपछि समाधान खोज्नैपर्छ भन्ने भावना बलियो बन्यो ।”
पाण्डे विकासलाई भावनात्मक नारामा होइन, तथ्य र अध्ययनमा आधारित बनाउनुपर्नेमा जोड दिन्छन् । उनले पछिल्ला झण्डै चार वर्षमा क्षेत्रका सबै वडामा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको अवस्था नजिकबाट बुझेको दाबी गर्छन् । उनका अनुसार समस्या पहिचान नगरी ल्याइने योजना दीर्घकालीन हुँदैनन् ।
कृषि क्षेत्र पर्सा–३ को सबैभन्दा ठूलो चुनौती भएको पाण्डेको निष्कर्ष छ । किसानले उत्पादन गरेको तरकारी, दूध र अण्डाले बजार नपाउँदा उत्पादनको मूल्य नै खेर जाने अवस्था रहेको उनी बताउँछन् । यही कारण कृषि पेशा आकर्षक नबन्दा युवाहरू वैदेशिक रोजगारीतर्फ धकेलिन बाध्य भएको उनको भनाइ छ ।
यसको समाधानका लागि उनले आधुनिक भण्डारण प्रणालीसहितको ‘कोल्ड स्टोर’ स्थापना गर्ने अवधारणा अघि सारेका छन् । उत्पादनदेखि बजारसम्मको शृंखला व्यवस्थित नगरेसम्म किसानको जीवनस्तर सुधार नहुने उनको तर्क छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि पाण्डे सन्तुष्ट देखिँदैनन् । क्षेत्रभित्र विद्यालय र स्वास्थ्य संस्था भए पनि सेवाको गुणस्तर कमजोर रहेको उनको मूल्याङ्कन छ । निर्वाचित भएपछि कागजमा मात्र सीमित नभई सेवाको वास्तविक अवस्था अनुगमन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
खानेपानी, सडक र सिँचाइ जस्ता आधारभूत पूर्वाधारका समस्या वर्षौंदेखि दोहोरिँदै आएको भन्दै पाण्डे नेतृत्वको इच्छाशक्ति नै मुख्य कमजोरी भएको बताउँछन् ।
“बजेटभन्दा पनि जिम्मेवारीबोधको कमीले विकास रोकिएको छ,” उनी भन्छन् ।
चुनावी प्रतिस्पर्धामा उनले लामो समयदेखि सत्तामा रहेर पनि ठोस उपलब्धि दिन नसकेका नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै, क्षणिक लोकप्रियतामा उदाएका केही शक्तिहरू दीर्घकालीन विकल्प बन्न नसक्ने उनको बुझाइ छ ।
एमालेले आफूलाई उम्मेदवार बनाउनुको कारण काम गर्ने चाहना र सामाजिक विश्वास भएको पाण्डे दाबी गर्छन् ।
“म राजनीति व्यवसाय बनाउन आएको होइन,” उनी भन्छन्, “पर्सा–३ लाई नयाँ दिशामा लैजान आएको हुँ ।”
स्थानीय बासिन्दाले ‘रूपेश बाबु’ भनेर दिएको अपनत्वलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मानेका पाण्डे यसपटकको चुनावलाई दलगत प्रतिस्पर्धाभन्दा फरक—विश्वास र कार्यशैलीको परीक्षा भएको बताउँछन् ।

प्रतिक्रिया