वीरगन्ज :

पत्रकार हरिशंकर शर्मामाथि षड्यन्त्र भएको आरोप, समाजवादी प्रेस सङ्गठन नेपालले निष्पक्षता सुनिश्चित गर्न दबाब दिने

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.4kViews
1522 Shares

वीरगञ्ज । समाजवादी प्रेस सङ्गठन नेपाल, पर्साको तेस्रो बैठक बुधवार वीरगञ्जमा सम्पन्न भएको छ । सङ्गठनका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले हालै पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको गम्भीर समीक्षा गर्दै उनलाई सुनियोजित तरिकाले फसाइएको निष्कर्ष निकालेको छ ।

बैठकले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरी प्रशासनलाई तत्काल प्रभावकारी कदम चाल्न र सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । यस सम्बन्धमा सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा पत्रकारहरूको पेसागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि भइरहेको दबाबका विषयमा गहन छलफल भएको थियो । सहभागीहरूले प्रहरी प्रशासन र अन्य सरोकारवालाहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । साथै प्रशासनले तत्कालै प्रभावकारी कदम नचाले र सत्य तथ्य सार्वजनिक नगरे आन्दोलनमा समेत जने चेतावनी दिएका छन् ।

सङ्गठनको एकमत

बैठकमा सङ्गठनका केन्द्रीय सचिव ब्रिजलाल पासवान, केन्द्रीय सदस्य मनोज पटेल, सल्लाहकार सञ्जय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साहलगायतका वरिष्ठ सदस्यहरूको उपस्थिति रहेको थियो ।

सदस्यहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष अनुसन्धानले मात्र वास्तविकता बाहिर ल्याउन सक्ने धारणा राखेका थिए ।

बैठकले सङ्गठनको भावी कार्य योजना, क्षेत्रीय सञ्जाल विस्तार र पत्रकार हितका लागि नीतिगत सुधारका कदमहरूबारे समेत छलफल गरेको जानकारी प्राप्त भएको छ । सङ्गठनले आगामी दिनमा प्रेस स्वतन्त्रताका मुद्दामा थप सशक्त रूपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकले निष्पक्षता र न्यायको पक्षमा एकजुट भएर अघि बढ्ने सन्देश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *