वीरगन्ज :

पत्रकार, प्रहरी र न्यायाधीश पार्टीको होइन, देशको हुनु पर्छ : मेयर साम्पाङ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.6kViews
1007 Shares

काठमाडौं,१६ भदाै । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राज्यका महत्त्वपूर्ण अंगहरू राजनीतिक दलको पक्षमा नभई देश र जनताप्रति निष्पक्ष र प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘हर्क साम्पाङ अ रिभोलुसन’ भेलामा सम्बोधन गर्दै मेयर साम्पाङले पत्रकार, प्रहरी, कर्मचारी, न्यायाधीश र अख्तियारजस्ता निकायहरूले दलीय प्रभावबाट मुक्त भएर न्याय र सत्यको पक्षमा उभिनुपर्ने बताए।

उनले भने, “पत्रकार पार्टीको हुनुहुँदैन। प्रहरी पार्टीको हुनुहुँदैन। कर्मचारी पार्टीको हुनुहुँदैन। न्यायाधीश पनि पार्टीको हुनुहुँदैन। अख्तियार पार्टीको हुनुहुँदैन। तपाईं राज्यको, देशको हो।”

साम्पाङले निष्पक्षताको महत्व स्पष्ट पार्दै तराजुको उदाहरण दिएका थिए। उनले भने, “न्याय भनेको निष्पक्षता हो। तराजुको डण्डाबाट बीचमा उभिनु नै न्याय हो। यता वा उता ढल्किए न्याय हुँदैन। पत्रकारले सधैं तराजुको बीचमा उभिनुपर्छ।”

उनले आफ्ना समर्थकहरूलाई पनि अन्य दलका व्यक्तिहरूलाई शत्रुको रूपमा नहेर्न आह्वान गरे। “विचार नमिल्दा कोही पराई होइन, भोलि उनी तपाईं संगै काम गर्न सक्छन्,” उनले भने।

मेयर साम्पाङले देश विकासका लागि सबै नेपाली एक भएर श्रममा जुट्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याए। “कलमले मात्र देश बन्दैन, औजार चलाउनुपर्छ। नीति र निर्णयले मात्र देश बन्दैन, श्रमदान गर्नुपर्छ। उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्नुपर्छ,” उनले बताए।

कार्यक्रममा उनका समर्थकहरूको बाक्लो उपस्थितिले अभियानको व्यापकता देखाएको थियो। मेयर साम्पाङले देशव्यापी अभियानको संकेत गर्दै एकता र श्रमको माध्यमबाट देश निर्माणमा सबैलाई सक्रिय हुन आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *