
श्रेणी : प्रदेश
काठमाडौं,१६ असार । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत ’विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको’ कसुरमा मुद्दा दायर गरेको हो।
साइबर ब्युरोमा ’परिवर्तित नाम’ मा परेको उजुरीका आधारमा पाठकविरुद्ध यो मुद्दा चलाइएको हो। साइबर ब्युरो ५९ नामबाट आएको जाहेरीमा उनले आफ्नो तस्बिरसहित ’हिल्टनमा जयवीर देउवाको (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) पैसा’ शीर्षक राखी ’काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहि अग्रवाल र दीपक भट्टको लगानी रहेको छ। निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरेको आरोप छ।
निवेदकले पाठकको उक्त प्रकाशनले आफूविरुद्ध घृणा र द्वेष फैलाएर चरित्रहत्या गरेको दाबी गर्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले पाठकलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ।
अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न पनि माग गरिएको छ। साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउनसमेत अभियोगपत्रमा मागदाबी लिइएको छ।


प्रतिक्रिया