वीरगन्ज :

पत्रकारिताबाट राजनीतिमा उदाएकी प्रतिभा रावल बनिन् सामान्य प्रशासन मन्त्री

श्रेणी : प्रदेश

19 hours
Pradeep Sah
2.1kViews
1890 Shares

धनगढी,१३ चैत । सुदूरपश्चिमकी प्रतिभा रावल संघीय सरकारमा मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बनेकी रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

३२ वर्षीया रावल पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनले झण्डै एक दशक पत्रकारितामा बिताएकी छन्। ‘साउथ एसिया चेक’, ‘रिपब्लिका’ दैनिक हुँदै उनी ‘ग्यालेक्सी फोरके टेलिभिजन’सम्म पुगेकी थिइन्। ग्यालेक्सीमा उनले सञ्चालन गरेको ‘लालमोहर’ कार्यक्रम निकै चर्चित बनेको थियो।

उक्त कार्यक्रममा उनले समाजका विभिन्न सरोकारवाला तथा नीति–निर्मातालाई स्टुडियोमा बोलाएर जनताका समस्या र प्रतिबद्धतामाथि बहस गराउने गर्थिन्। तर ती प्रतिबद्धताहरू कार्यान्वयनमा नआएको अनुभवपछि उनले निष्कर्ष निकालिन्— परिवर्तनका लागि बाहिरबाट प्रश्न उठाउनु मात्र पर्याप्त हुँदैन, नीति निर्माणमै सक्रिय हुनुपर्छ।

यही सोच र ग्यालेक्सी टेलिभिजनका प्रमुख रवि लामिछानेको प्रेरणाले उनलाई पत्रकारिताबाट राजनीतिमा ल्यायो। रास्वपा स्थापना भएको केही समयमै उनी सक्रिय राजनीतिमा लागेकी थिइन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरमा जन्मिएकी रावलको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनी पाँच वर्षकी हुँदा बुबाको निधन भएपछि आमा माया रावलले छोराछोरीको पालनपोषण र शिक्षाको जिम्मेवारी एक्लै वहन गरिन्।

महेन्द्रनगरमा कहिले सानो व्यवसाय त कहिले शिक्षण पेशा गर्दै आमाले दिएको संघर्ष र प्रेरणाले आफूलाई यहाँसम्म ल्याएको रावल बताउँछिन्। महेन्द्रनगरमै एसएलसी उत्तीर्ण गरेकी उनले नेपालमै स्नातक तह पूरा गरी भारतको चेन्नईबाट स्नातकोत्तर अध्ययन गरेकी छन्।

“आमाको त्याग र शिक्षाप्रतिको लगावले नै म आज यो स्थानमा पुगेकी हुँ। अब म काम गरेर देखाउनेछु,” रावलले भनिन्। यसैबीच, सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने गीता चौधरी पनि मन्त्री बनेकी छन्। उनलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। दुवै मन्त्री समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *