वीरगन्ज :

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : मेयर सिंह

श्रेणी : BANNER

6 months
Pradeep Sah
2.1kViews
1304 Shares

वीरगंज (पर्सा), ६ असार । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका छन् । शुक्रबार देखि सुरु भएको ३ दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए ।

मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गरे । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उनले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताए ।

संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उनले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताए । उनले भने, ‘संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’ कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे । कार्यक्रममा महानगरपालिकाको आम संचार प्रर्वधन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए ।

पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको उनले बताए । मधेसखबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत संचारकर्मी माधुरी महतोले गरेकी थिइन । मधेसखबर मल्टिमिडिया प्रा.लि. वीरगंजको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *