
श्रेणी : अर्थ
बारा,३१ असार । बाराको पचरौता नगरपालिकाले कक्षा ११, १२ र प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई ३८ लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरेको छ। नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई कूल ३८ लाख ४० हजार १५९ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर जलन्धर सिंह र उपमेयर नसीमा खातूनले ६ जना प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई ९ लाख ८९ हजार र कक्षा ११–१२ मा अध्ययनरत ५८ जना विद्यार्थीलाई २८ लाख ५१ हजार १५९ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मेयर सिंहले शिक्षालाई विकासको मूल आधारका रूपमा प्राथमिकता दिएको भन्दै छात्रवृत्तिले विद्यार्थीहरूलाई थप प्रेरणा र कमजोर आर्थिक अवस्थाका परिवारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, छात्रवृत्ति वितरण कार्यक्रमले लैङ्गिक समावेशिता र शैक्षिक पहुँच विस्तारमा टेवा पुर्याएको भन्दै उनले विद्यार्थीलाई अनुशासित भई मेहनतका साथ पढ्न आग्रह गरे।
मेयर सिंहले कार्यक्रममा आगामी दिनमा पचरौता नगरपालिकामा स्नातक तहमा अध्ययनरत छोरी–बुहारीहरूलाई ल्यापटप वितरण गर्ने घोषणा पनि गरे।
छात्रवृत्ति वितरण कार्यक्रममा उपमेयर खातून, वडाध्यक्ष लक्ष्मी यादव र बनारसी बिन, शिक्षा सहायक मुकेश कुमार सिंह, समाजसेवी प्रभु ठाकुर, नेवाजी मियाँ अंसारी र पिपरपाती माविका प्रधानाध्यापक रामानन्द साह लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया