वीरगन्ज :

पकाहामैनपुरमा एमालेको चुनावी सक्रियता बढ्दो, रूपेश पाण्डेले विकास र स्थिरताको एजेन्डा अघि सारे

श्रेणी : BANNER

1 hour
Pradeep Sah
3.0kViews
1294 Shares

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–४ मा नेकपा (एमाले) ले सञ्चालन गरेको घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम उल्लेखनीय जनसहभागितासहित सम्पन्न भएको छ। कार्यक्रमले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय राजनीतिक माहोल थप सक्रिय बनेको संकेत गरेको छ।
मतदातासँगको प्रत्यक्ष संवादका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे ले देशको समग्र विकास र राजनीतिक स्थायित्वका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनले विगतका राजनीतिक अस्थिरताले विकासको गति अवरुद्ध गरेको उल्लेख गर्दै अब स्थिर नेतृत्वमार्फत समृद्धिको मार्ग निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
पाण्डेले राष्ट्रको मजबुती नै क्षेत्रीय विकासको आधार हुने तर्क प्रस्तुत गर्दै पर्सा–३ लाई कृषि, उद्योग, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना आफूले अघि सारेको बताए। उनले आफूलाई नयाँ सोच र ऊर्जायुक्त युवा नेतृत्वको रूपमा प्रस्तुत गर्दै जनविश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पाण्डेले अघि सारेका विकास योजनाहरू व्यवहारिक र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डेलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेको एमाले स्रोतले जनाएको छ।
पछिल्ला दिनहरूमा पर्सा–३ क्षेत्रमा पाण्डेको पक्षमा जनसमर्थन क्रमशः बलियो बन्दै गएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। कार्यक्रममा जिल्लाका अनुभवी नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिताले अभियानलाई थप सशक्त बनाएको थियो।
एमालेले आगामी दिनहरूमा घरदैलो अभियानलाई अझ व्यापक बनाउँदै मतदाता केन्द्रित कार्यक्रमहरूलाई तीव्रता दिने रणनीति बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *