वीरगंज (पर्सा), ११ माघ । धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. ५ निवासी मखनाहा टोल निवासी फुलन यादवले जिल्ला प्रहरी कार्यालय पर्साले नेशनल मेडिकल कलेज विरुद्ध जाहेरी दर्ता नगरेको आरोप लगाएका छन् । गत आइतबार माघ ७ गते विहान ५ बजे वीरगंज महानगरपालिका-१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका दुईजना विद्यार्थीमध्ये धनुषा निवासी सुमित यादवका बुवाले नेशनल केडिकल कलेज विरुद्ध जाहेरी दिन जाँदा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता नगरिएको आरोप लगाए ।
उनले कलेज प्रशासनको चरम लापरवाहीको कारण छोराको ज्यान गएकोले आवश्यक अनुसन्धान सहित कारवाहीको माग गर्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताए । उनले भने ‘मेरो छोरालाई कलेजको जिम्मा लगाएर होस्टलमा राखेको अवस्थामा रातिको समयमा कलेजबाट कसरी निस्क्यो ? बाइक कहाँबाट आयो ? वार्डेनले के हेरेर बसेको थियो ? कलेजको दोश्रो गेटको ताल्चा कसले खोल्यो ? बाइक कसले दियो ? राति त्यो बाइक होस्टलसम्म कसरी पुग्यो ? कलेज प्रशासनको चरम लापरवाहीले छोराको ज्यान गएको छ, यस घटनामा सत्यतथ्य छानविन गरि कलेजलाई कारवाही गरिनुपर्छ ।’
दुर्घटनाबाट छोराको मृत्यु भएपछि कलेज प्रशासनसँग सोधपुछ गर्दा केही जानकारी नदिएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुग्दा कलेजका एकजना प्रतिनिधि बोलाएर कलेजमै छलफल गराएका थिए । छलफलको क्रममा प्रहरीको रोहबरमा क्याम्पस प्रशासनले आफ्नो गल्ती पनि स्वीकारेको मृतकका बुवा फुलन यादवको भनाई छ । उनका अनुसार छलफलमा कलेज प्रशासनले सिस्टमको गल्तीले विद्यार्थी बाहिर निस्केको गल्ती स्वीकार्दै अध्ययन वापत कलेजलाई बुझाइएको शुल्क फिर्ता दिने भनेर प्रस्ताव गरिएको कारण आफू अन्यायमा परेर कानूनी बाटो रोजेको बताए ।
‘कलेजले सानोतिनो गल्ती गरेको छैन, उसलाई सानो गल्ती लागेको होला, तर मैले आफ्नो छोरा गुमाएको छुँ, कलेजको होस्टल सुपरिटेण्ड, वार्डेन, प्रशासन प्रमुखमाथि छोराको ज्यान मारेको आरोपमा कारवाही हुनुपर्छ’ उनले भने । यसमा प्रहरीले पनि साथ दिइरहेको छैन, अनुसन्धानबाट जे हुन्छ त्यो स्वीकार्य छ, तर प्रहरीले जाहेरी नै दर्ता नगरेको कारण आफू अन्यायमा परेको बताए ।
यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बिहीबार छलफलको लागि दुबै पक्षको बोलाइएको बताए । उनले भने ‘मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो, यस अवस्थामा कर्तव्य ज्यान सम्बन्धी जाहेरी कसरी दर्ता गर्ने ? उहाँहरुले कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय आएको कारण जाहेरी दर्ता नगरी दुबै पक्षलाई छलफलको लागि बोलाइएको बताए । छलफलको क्रममा दुबै पक्षबीच कुनै निचोड ननिस्केपछि प्रहरीले अनुसन्धान थाल्ने उनको भनाई छ ।
गत माघ ७ गते विहान वीरगंज महानगरपालिका-१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटनामा परि २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा धनुषाका सुमित यादव र बारा सुवणर्पुरका सञ्चित यादव थिए । मृतक दुवैजना वीरगंज स्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । मधेस प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको थियो । वीरगंज टाईम्स
प्रतिक्रिया