वीरगन्ज :

नेशनल पानी उद्योग: बन्द बोतलभित्रै फोहर ! स्वास्थ्यसँग खेलवाड, सफा पानी कि रोगको निम्तो ?

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.2kViews
1508 Shares

प्रसौनी (बारा), ११ माघ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ स्थित सञ्चालित नेशनल पानी उद्योग (नेशनल वाटर कम्पनी) ले उत्पादन गरेको ‘नेशनल वाटर’ मिनरल वाटरमा पुनः फोहर भेटिएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित एक किराना पसलबाट बिक्री भएको शिल प्याक गरिएको पानीको बोतलभित्र फोहर देखिएपछि पानीजस्तो संवेदनशील उपभोग्य वस्तुमा कम्पनीको चरम लापरवाही सतहमा आएको हो ।

स्वच्छ र सुरक्षित पेय पदार्थको नाममा बजारमा बिक्री भइरहेको पानीमै फोहर भेटिनु केवल उपभोक्ता ठगी मात्र नभई सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड भएको भन्दै स्थानीयवासी र उपभोक्ताहरु आक्रोशित भएका छन् । दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइड लगायतका घातक रोग फैलिन सक्ने जोखिम रहने स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् । विशेषगरी बालबालिका, वृद्ध तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरु यसबाट गम्भीर रूपमा प्रभावित हुन सक्ने बताइएको छ ।

घटनाबारे उपभोक्ताहरु उद्योग सञ्चालक विजय यादवलाई जानकारी गराउँदा ‘यो खासै ठूलो समस्या होइन, जे मन लाग्छ त्यही गर्नुहोस’ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उपभोक्ताहरुको गुनासो गरेका छन् । पानीमा फोहर भेटिएको जस्तो गम्भीर विषयमा उद्योग सञ्चालकको यस्तो लापरवाह भनाइले उपभोक्ता र स्थानीयवासीको आक्रोश झन् चुलिएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य कार्यालय र उपभोक्ता हित संरक्षण शाखा जस्ता सम्बन्धित नियामक निकायहरु भने घटनाप्रति मौन देखिएका छन् । नियमित अनुगमन र गुणस्तर परीक्षणको अभावकै कारण यस्ता गुणस्तरहीन पानी उद्योगहरु खुलेआम सञ्चालनमा रहेको उपभोक्ताको आरोप छ ।

उपभोक्ताहरुले दोषी उद्योगमाथि तत्काल कडा कारबाही, उत्पादन पूर्ण रूपमा रोक्नुपर्ने, बजारबाट दूषित पानी फिर्ता गर्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । यो घटनाले नेपालमा बोतल पानी उद्योग र त्यसको नियमन प्रणाली कति कमजोर छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ ।

उद्योगको लापरवाहीको यो पहिलो पटक भने होइन । करिब दुई वर्षअघि पनि सोही उद्योगद्वारा उत्पादित पानीको बोतलभित्र माकुरा भेटिएपछि उपभोक्ताहरुले उजुरी दिएका थिए । त्यसक्रममा २०८० साल असोज १८ गते जिल्ला प्रशासन कार्यालय बाराको टोलीले उद्योगमा अनुगमन गरी सिलबन्दी गरेको थियो ।

तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद आचार्यको नेतृत्वमा प्रहरीसहित गएको टोलीले उद्योग सञ्चालन मापदण्डअनुसार नभएको, सरसफाइको अवस्था दयनीय रहेको तथा पानीको गुणस्तरमै गम्भीर शंका देखिएपछि उद्योग सिलबन्दी गरेको थियो । सो क्रममा मौज्दातमा रहेका पानी नियन्त्रणमा लिइएको र उद्योग सञ्चालक विजयकुमार यादवलाई नियन्त्रणमा लिएर पछि हाजिरी जमानतमा रिहा गरिएको थियो ।

त्यति ठूलो कारबाही भइसकेपछि पनि उद्योगले सरकारी ऐन कानूनलाई पटक पटक अटेरी गर्दै आएको उपभोक्ताको आरोप छ । एकपटकको गल्तीलाई भूलवश भन्न सकिएपनि उही घटना पटक पटक दोहोरिनु उद्योगले जानीजानी नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको प्रमाण भएको स्थानीयवासी बताउँछन् ।

यस्तै, बारा जिल्लामा सञ्चालित अन्य पानी उद्योगहरुले पनि मापदण्ड विपरित गुणस्तरहीन पानी उत्पादन गरी बिक्री वितरण गरिरहेको गुनासो बढ्दै गएको छ । यसै क्रममा महागढीमाई नगरपालिकास्थित नेचुरल रिसोर्स कम्पनीले उत्पादन गरेको ‘शुद्ध अमृत जल’ ब्राण्डको पानीको बोतलमा समेत फोहर भेटिएपछि कोल्हबी नगरपालिका वडा नं. ११ थस्कौलबाट ३७ थान जार र ३९ कार्टुन पानी स्थानीय प्रशासनले जफत गरेको थियो ।

लगातार यस्ता घटनाहरु दोहोरिँदा पनि नियामक निकायको उदासीनता र उद्योगहरुको मनपरीले सर्वसाधारण नागरिक असुरक्षित रूपमा दूषित पानी पिउन बाध्य छन् । अब पनि सम्बन्धित निकायले कडा कदम नचाले जनस्वास्थ्यमा अझ ठूलो संकट निम्तिन सक्ने सरोकारवालाहरुको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *