
श्रेणी : BANNER
काठमाडौं । नेपाल र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त वक्तव्यमार्फत सार्वजनिक गरिएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।
मंगलबार जारी गररेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ । त्यस्तै लिजी–नेचुङ बन्दरगाह र झाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ ।
त्यस्तै छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ ।
त्यस्तै टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ । त्यस्तै नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।
संयुक्त वक्तव्यमा, ‘जिलोङ÷केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने’ उल्लेख छ । ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ ।
त्यसैगरी नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ ।

प्रतिक्रिया