वीरगन्ज :

नेपाल मेडिसिटी बयोधा अस्पतालद्वारा बारा निजगढमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

श्रेणी : मधेस

6 days
Pradeep Sah
2.6kViews
1544 Shares

वीरगन्ज,१७ माघ । नेपाल मेडिसिटी बयोधा अस्पतालले श्री साथी नेपाल र राष्ट्रिय युवा सङ्घ नेपालको सहकार्यमा बारा जिल्लाको निजगढ नगरपालिका–३, सिङौलमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्थानीय समुदायका झन्डै ३०० नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको यो शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान दिएको छ।

शिविरमा नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख चिकित्सक डा. अस्मिता उपाध्याय द्विवेदी, वरिष्ठ चिकित्सक डा. मनबोध कुमार शाह र नर्सिङ प्रमुख पूजन चौधरीको टोलीले सेवा प्रदान गरेका थिए।

डा. अस्मिता उपाध्याय द्विवेदीले स्वास्थ्य परीक्षणको क्रममा स्थानीय महिलाहरूमा पाठेघरसम्बन्धी समस्या व्यापक देखिएको बताइन्। त्यस्तै, डा. मनबोध कुमार शाहले ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी चेतनाको कमी गम्भीर चुनौती भएको औंल्याए। उनले चेतनाको अभावले उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू बढेको जानकारी दिए।

शिविरमा निःशुल्क औषधि, महिनावारी प्याड, र अन्य स्वास्थ्य सामग्री वितरण गरिएको थियो। साथै, स्थानीय समुदायलाई दीर्घकालीन स्वास्थ्य समस्याबारे सचेत गराउन विशेष स्वास्थ्य शिक्षा प्रदान गरिएको आयोजकहरूले जनाएका छन्।

नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रतिनिधिहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यस शिविरले स्थानीय समुदायलाई तत्काल स्वास्थ्य सेवाका साथसाथै दीर्घकालीन स्वास्थ्य सचेतना फैलाउने महत्त्वपूर्ण प्रयास गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *