
श्रेणी : मधेस
वीरगन्ज, १२ माघ । नेपाल मुस्लिम पत्रकार संघ पर्साले वीरगन्जको क्लासिक बंक्वेटमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले सम्मानपत्र र दोसल्ला प्रदान गर्दै पत्रकारिताको महत्व र पेशागत इमानदारीको आवश्यकता जोड दिएका छन्। उनले भने, “पत्रकारहरूले राज्यका सही र गलत काम उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्, र समाजले पनि पत्रकारको विश्वसनीयतामा विश्वास राख्नुपर्छ।”
संघका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा र पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्व. पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघले ३१ हजार रूपैयाँको सहयोग रकम हस्तान्तरण गरेको थियो।
संचारकर्मीहरूको ठूलो उपस्थितिमा सम्पन्न भएको यस समारोहले पत्रकारिता क्षेत्रमा विश्वास र इमानदारीको महत्त्व पुनः प्रकट गरेको छ।

प्रतिक्रिया