वीरगन्ज :

नेपाल महिला संघ पर्साको बैठक, संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.6kViews
1274 Shares

वीरगंज (पर्सा), १४ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार प्रसार अन्तर्गत नेपाल महिला संघ पर्साको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । बैठक महिलाको संगठनात्मक सशक्तीकरण, पार्टीको आगामी रणनीति तथा स्थानीय तहमा महिला सहभागिता अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो ।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथि अनिल सिंह र प्रकाश उपाध्याय तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकारसहित पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा नेपाल महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको रक्षा गर्न महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

त्यस्तै, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण रहेको बताए । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्‍याउन महिला संघले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन कार्यकर्तालाई आह्वान गरे ।

प्रमुख अतिथि तथा उम्मेदवार अनिल रुङटाले पार्टीलाई निर्वाचनमा सफलता दिलाउन महिला संघको सशक्त भूमिका निर्णायक हुने धारणा राखेका थिए । उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने खालको उत्तरदायी राजनीति आवश्यक रहेको बताए ।

नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा आयोजित बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *