वीरगन्ज :

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न, अपराध नियन्त्रण र डुबान न्यूनीकरणमा साझा प्रतिबद्धता

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
1.8kViews
1207 Shares

रौतहट,३१ जेठ । नेपाल–भारत सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि र बर्सेनी दोहोरिने डुबान समस्यालाई समाधान गर्न दुवै देशका सुरक्षाधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ। शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठकमा आपसी समन्वय, सूचना आदान–प्रदान र कडाइका साथ कारबाही गर्न सहमति जुटेको हो।

बैठक सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध हतियार कारोबार, मदिरा ओसारपसार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा शून्य सहनशीलता अपनाउने साझा धारणा व्यक्त गरिएको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार, बैठकमा अपराध गरेर एक देशमा लुकेर बस्नेहरूलाई नियन्त्रणमा लिन दुवै पक्षबीच सूचनाको तत्काल आदान–प्रदान र प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ।

बैठकमा विदेशी घुसपैठ नियन्त्रण, सीमाक्षेत्रको विशेष निगरानी र दशगजा क्षेत्रमा थप सुरक्षाको आवश्यकता पनि औंल्याइएको थियो। साथै, बर्खायाममा बागमती र लालबकैया नदीमा पानीको बहाव बढ्दा गौर क्षेत्र डुबानमा पर्ने समस्या समाधानका लागि भारतको बैरगनियास्थित नदी साइफन (ढोका) खोल्ने सहमति भएको खड्काले जानकारी दिए।

बैठकमा नेपालका तर्फबाट सर्लाही, महोत्तरी र रौतहटका सुरक्षाधिकारीहरू तथा भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता थियो।

सीमा सुरक्षालाई थप मजबुत बनाउने र स्थानीय बासिन्दाको दैनिकी सहज बनाउने दिशामा बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *