
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ, २१ चैत्र । भारततर्फ नेपाली वस्तुहरूको निर्यातमा हालसम्म लगाइएका अवरोधको मुद्धा समाधान भएको छ। भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका सामग्रीहरूको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि नेपाली निर्यातको बाटो खुला भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिना अघि भारत भ्रमण गर्दै भारतीय समकक्षी पीयुष गोयलसँग निर्यात सहजीकरणको विषयमा छलफल गरेका थिए। यसबारे गत पुस महिनामा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा पनि गहन वार्ता भएको थियो।
भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्ता लगायतका सामग्रीका लागि बिआइएस प्रमाणपत्र अनिवार्य गरेको थियो। यसका कारण गत पाँच महिना देखि नेपालबाट भारततर्फ सिमेन्ट र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो। नेपालका व्यवसायीहरूले सरकारलाई दबाब दिँदै बिआइएस नवीकरणको माग गरेका थिए।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार, बिआइएस नवीकरणपछि निर्यात प्रक्रिया सहज भएको छ। करिब एक दर्जन उद्योगहरूले प्रमाणपत्र नवीकरण गरिसकेका छन् र केही सिमेन्ट उद्योगहरूले पनि यसबाट फाइदा लिन थालेका छन्।


प्रतिक्रिया