
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,२८ माघ । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी तय गर्न नेपाल र भारतबीच सचिवस्तरीय बैठक सुरु हुँदैछ। नेपालबाट सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्ने लक्ष्यसहित नयाँ प्रसारण लाइन निर्माणका विषयमा छलफल हुनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको नेतृत्वमा नेपाली टोली बैठकमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरिसकेको छ। बैठकमा प्रसारण लाइन निर्माण, भारतीय लगानीका जलविद्युत् आयोजना, आयात-निर्यातको सहजताका विषयमा छलफल हुनेछ।
नेपालको इनरुवादेखि भारतको पूर्णिया र दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका प्रसारण लाइन निर्माण सन् २०३० सम्म सम्पन्न गर्ने र संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ।
ऊर्जा मन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य पूरा गर्न यस्ता सम्झौताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रतिक्रिया