वीरगन्ज :

नेपाल–भारतबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने सहमति

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.2kViews
1238 Shares

काठमाडौँ,०२ फागुन । नेपाल र भारतबीच निजगढ–हरनैया–मोतीहारी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। दुई देशका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा उक्त सहमति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिइएको हो।

बैठकमा कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण तथा ढल्केबर–मुजफ्फरपुर लाइनको क्षमता वृद्धिको विषयमा पनि सहमति भएको छ। हाल ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत ८०० मेगावाट बिजुली आदान–प्रदान भइरहेको छ, जसलाई १,००० मेगावाटसम्म विस्तार गरिनेछ।

यसअघि इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणमा समेत नेपाल–भारतबीच सहमति भइसकेको छ। हाल न्यूबुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य जारी छ।

नेपालबाट भारततर्फ १०,००० मेगावाट र बङ्गलादेशतर्फ ५,००० मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यअनुसार उच्च क्षमताका प्रसारण लाइन आवश्यक भएकाले दुई देशले सहकार्यलाई तीव्रता दिएका छन्।

बैठकमा सुदूरपश्चिम प्रदेशका लागि चमेलिया–जैलिजीवी २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको विषयमा पनि छलफल भएको छ। सो प्रसारण लाइन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ऊर्जा व्यापार विस्तारका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले चालु आवको चार महिनामा मात्र भारतलाई १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो।

नेपाल–भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणका पछिल्ला सहमतिहरूले ऊर्जा व्यापारलाई थप सहज बनाउने र दीर्घकालीन लक्ष्य पूरा गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *